उपाधिका लागि आर्मी र विमान भिड्ने



गणेश घिमिरे, इलाम ।

इलाममा जारी दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय टिम त्रिभुवन आर्मी क्लब र झापा बिर्तामोडको विमान ट्रेडर्स भिड्ने भएका छन् । शनिबार भएको पहिलो सेमिफाईनलमा आर्मीले अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई र दोस्रो सेमिफाइनलमा विमानले बिभागिय टिम एपिएफलाई हराउँदै उपाधि होडमा पुगेको हो । पहिलो खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा हरायो । आर्मीले पुलिसमाथि उत्कृष्ट पूनरागमनका साथ सानदार जित निकालेको हो । आर्मीले पुलिसलाई १९–२५ २५–२२, २५–१५ र २५–२० ले हरायो ।

पहिलो सेट गुमाएको आर्मीले त्यसपछि लगातर तीन सेट जित्दै फाइनलमा स्थान बनाएको हो । पहिलो सेट आर्मीले १९–२५ ले हारेको थियो । तर त्यसपछि भने खेलमा उत्कृष्ट प्रदर्शन गर्यो । दोस्रो सेटमा २५–२२ ले जितेको थियो । तेस्रो सेट २५–१५ ले जित्दा चौथो सेटमा २५–१९ ले जितेको हो । चौथो सेटमा पुलिसले ७ अंकको अग्रता लिएको थियो । तापनि आर्मीले उत्कृष्ट पुनरागमनको साथ जित निकाल्न सफल भएको थियो । १०–३ को अवस्थाबाट आर्मीले सेट हात पारेको थियो । चोटका कारण नियमित कप्तान इम रानामगर र द्वारिका थापा नखेल्दा पुलिस कमजोर बनेको थियो । टोली पराजित भए पनि विशाल बहादुर बिक र रविन चन्द्रले उत्कृष्ट प्रर्दशन गरेका थिए । पुलिस पराजित भए पनि रविन चन्द ‘म्यान अफ द म्याच’ चुनिए । द्वारिका पहिलो खेलमा एपिएफविरुद्ध घाइते भएका थिए । इम ढाडको समस्याको कारण खेलेका थिएनन् ।

शनिबारै सम्पन्न अर्को सेमिफाइनलमा भारतीय खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडले एपीएफलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । विमानले एपीएफलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । विमानले एपीएफलाई २७–२५, २५–२० र २५–२२ ले हरायो । पहिलो सेटमा एपीएफले उच्च प्रतिस्पर्धा गरे पनि अन्तिम समयमा लगातार अंक गुमाउँदा हार व्यहोर्न बाध्य बन्यो । दोस्रो र तेस्रो सेटमा विमानले सहज जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्