हेटौंडामा गोल्डकप उपाधि आर्मीलाई



हेटौंडा, (नेस)  ।

हेटौंडामा सम्पन्न ‘स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ ।
शनिबारको फाइनलमा आयोजक डिफेन्डिङ च्याम्पियन रिगल हेटौंडा रिसोर्ट मकवानपुरलाई १–० गोलअन्तरले कठिन जित निकाल्दै आर्मीले उपाधि जितेको हो । प्रतिस्पर्धात्मक फाइनलमा आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले ३९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उपाधि जिताउन उत्कृष्ट खेल प्रदर्शन गर्दै गोल गरेका बुढाथोकी ‘म्यान अफ दी म्याच’ घोषित भएर नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिता उपाधि विजेताले आर्मीले १० लाख रुपैयाँ र उपविजेता मकवानपुरले ५ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको आकर्षणका रूपमा रहेको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भएर रिगल हेटौंडा रिसोर्टका खेलाडी अमिर श्रेष्ठले रोयल इन्फिल्ड बुलेट बाइक पुरस्कार पाएका छन् । हेटौंडा स्कुल अफ म्यानेजमेन्टले उक्त पुरस्कार सौजन्य गरेको हो ।फुटबलर श्रेष्ठ लगातार दुई दिन दुई फरक क्लबबाट फरक स्थानमा फुटबल खेलेका थिए । उनी दुवै स्थानमा ‘म्यान अफ दी म्याच’समेत घोषित भएका थिए । नेपालगञ्जमा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको एन्फा प्रेसिडेन्ट लिग र हेटौंडामा ‘तेस्रो शहीद स्मृति राष्ट्रिय गोल्डकप’मा उनी ‘म्यान अफ दी म्याच’ चुनिएका थिए । उनी दुवैतिर छाएका थिए ।

२०६० सालअघि हेटौंडाको इन्टरनेट एफ्सीबाट उनले फुटबलमा डेब्यु गरेका हुन् । त्यसपछि २०६० सालमा उनी एन्फाको अण्डर–१४ मा छनौट भए । ३ वर्ष एन्फाको अण्डर–१४ मा रहँदा उनले उत्कृष्ट मिडफिल्डरको भूमिका निर्वाह गरेका थिए । राष्ट्रिय टोलीका कप्तान विराज महर्जन तथा अन्य खेलाडी रविन श्रेष्ठ, भरत खवास, शिव श्रेष्ठ, विक्रम लामा उनकै ब्याजका हुन् । अण्डर–१४ मा रहँदा उनीहरु एकसाथ खेल्थे ।खेलाडी भएर परिवारको त के आफ्नै ज्यानसमेत पाल्न धौ–धौ भएपछि उनी ५ लाख ऋण काढेर कतार पुगे र कतारमा स्काभेटर अपरेटर रहे । उपाधि जिते सरकारले प्रोत्साहनस्वरूप केही महिना मात्र पुग्ने रकम उपहार दिने, पराजित भए निरुत्साहित पार्ने काम गर्ने, खेलाडीलाई पुग्ने मासिक भत्ता नदिनेजस्ता समस्याले आफू खाडी मुलुक कतार गएको उनले सुनाएका थिए ।

प्रतियोगिताका उत्कृष्ट फरवार्ड मकवानपुरका रञ्जन विष्ट, वेस्ट डिफेन्डरमा आर्मीका दीपक गुरुङ, वेस्ट मिडफिल्डरमा आर्मीकै सेसेहाङ आङ्दम्बे, गोलरक्षकमा उपविजेता टोलीका विवश चौधरी र आमीका नवीन न्यौपाने वेस्ट कोचमा भए । विधागत् उत्कृष्ट हुनेलाई जनही २५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । हेटौंडामा आर्मीको यो दोस्रो जित हो । नेपाल पुलिसलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै २०७४ फागुनमा तेस्रो हेटौंडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि पनि त्रिभुवन आर्मी क्लबले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्