‘विकासका काममा राजनीति गर्न हुँदैन’ : सर्वेन्द्र खनाल



काठमाडौँ  ।

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विकासका काममा कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको छ ।

जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘१८औँ रक्तदान तथा सम्मान’ कार्यक्रममा उहाँले नीति र नेतृत्वलाई सही ढङ्गले परिचालन गर्न सकेमात्र देशको विकास हुने बताउनुभएको हो । “यो तेरो पार्टीको यो मेरो पार्टीको भन्नुभन्दा पनि सामूहिक रुपमा काम गरौँ, देशको विकास सम्भव छ”, उहाँले भन्नुभयो ।

खनालले आफूले प्रहरी सङ्गठनमा लागेर समाज र राष्ट्रको सेवा गरेको उल्लेख गर्दै जनताले अवसर प्रदान गरे सक्रिय राजनीतिमा लाग्ने बताउनुभयो । नेपालको राजनीति क्षेत्रलाई शुद्धिकरणका लागि राजनीति क्षेत्रमा हुने बद्मासीको अन्त्य हुनु जरुरी रहेको उहाँको भनाइ छ ।

उहाँले देशमा हुने भ्रष्टाचारको अन्त्य र अपराधलाई निर्मूल पारेमात्र देशको विकास हुने उल्लेख गर्नुभयो । टोखा नगरपालिका–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले प्रचुर सम्भावना भएको नेपालको विकासका लागि सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले मुलुकमा रगत अभाव भइरहेको अवस्थामा रक्तदान गरेर जनकल्याण सामाजिक केन्द्रले राम्रो कामको शुरुआत गरेको बताउनुभयो ।

केन्द्रका सल्लाहकार एवम् समाजसेवी भरत ढकालले राजनीति क्षेत्रले जनताको भावनालाई पूरा गर्न नसकेसम्म देशको विकास सम्भव नहुने बताउनुभयो । विसं २०७० मा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले काठमाडौँको टोखा नगरपालिका, तारकेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिकामा सामाजिक काम गर्दै आइरहेको केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिनुभयो ।

केन्द्रले कोभिड–१९ महामारीका समयमा गरीब तथा असहाय व्यक्तिलाई खाद्यान्न वितरण गर्नाका साथै स्वास्थ्य शिविर, रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको थियो । सोही अवसरमा २२ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्