६५ घरधुरी मिलेर टिमुरखेती



तनहुँ ।

आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका करीब ६५ घरधुरी मिलेर व्यावसायिकरुपमा टिमुरखेती गर्दै आएका छन् । स्थानीयवासीले आफ्नो क्षमताअनुरुपको टिमुरका बिरुवा ल्याएर लगाउँदै आएका हुन् । हाल २०० रोपनी क्षेत्रफलमा करीब २० हजार टिमुरका बिरुवा लगाइसकेका छन् ।

थोरै लगानी र मेहनतमा राम्रो आम्दानी हुने देखेपछि यहाँका मानिस टिमुरखेतीतर्फ आकर्षित भएको हिलेखर्क–बाँसलडाँडा एकीकृत कृषक समूहका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो । घरबास सञ्चालन गरेर पर्यटकीय गन्तव्यका रुपमा ख्याति कमाउँदै आएको हिलेखर्कवासीले पछिल्लो समय टिमुरखेतीलाई पनि सँगसँगै लैजान थालेको उहाँले जानकारी दिनुभयो ।

शुरुमा २५ जना मिलेर समूह गठन गरेर टिमुरखेतीको शुरुआत गरिएको थियो तर अहिले यस खेतीतर्फ किसानको आर्कषण बढ्दै गएको छ । तीन÷चार वर्षअघि केही व्यक्तिले थोरैथोरै टिमुरको खेती गरे पनि अघिल्लो वर्षदेखि व्यावसायिकरुपमा नै खेती गर्न थालेका छन् । डिभिजन वन कार्यालयको सहकार्यमा बनेपाबाट दमौलीसम्म बिरुवा ल्याउने कार्य भए पनि दमौलीबाट गाउँसम्म कृषक समूहले नै बिरुवा ढुवानी गरेर लगाएका हुन् ।

उक्त बिरुवा डाबर नेपाल बनेपाबाट बिरुवा ल्याएर प्रत्येक घरधुरीले मिलेर टिमुरखेती गरको छ । अध्यक्ष गुरुङले भन्नुभयो, “सबै घरधुरीले कम्तीमा दुई सय÷तीन सय बिरुवा लगाएका छन् ।” टिमुरखेती नेपालका पहाड, तराई र हिमाल सबै क्षेत्रमा गर्न सकिने बताइएको छ । विशेषगरी समुन्द्री सतहबाट एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइ टिमुरखेतीका लागि उत्तम स्थल मानिन्छ ।

बिरुवा लगाएको चार वर्षपछि फल्न शुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि स्थानीयवासी यस खेतीतर्फ सक्रिय भएर लाग्न थालेका छन् । उनीहरुले लगाएको यो दोस्रो वर्ष लागेको छ । रुखो जग्गा जमीन तथा वनमा समेत टिमुरखेती सजिलै गर्न सकिने र धेरै मेहनत गर्नु नपर्ने तथा थोरै लगानीमा पनि गर्न सकिने भएपछि स्थानीयवासीले अभियानकैरुपमा टिमुरखेती थालेका छन् ।

स्थानीय जीतबहादुर गुरुङले मात्रै एक हजार ५०० टिमुरका बिरुवा लगाउनुभएको छ । खेती गर्न सजिलो हुने र आम्दानी पनि राम्रो हुने देखेपछि यसतर्फ लागेको उहाँले जानकारी दिनुभयो । टिमुरका बिरुवा बाहिर किन्दा रु १०० देखि रु १५० सम्म पर्ने भए पनि समूहमार्फत ल्याउँदा प्रतिबिरुवा रु ४० परेकाले शुपथ मूल्यमा पाएको उक्त कृषक समूहले जनाएको छ ।

बिरुवाका लागि जडीबुटी विकास कार्यक्रममार्फत रु आठ लाख ५० हजार विनियोजन भएपछि डिभिजन वन कार्यालयसँग समन्वय गरी बिरुवा खरीद गरेर लगाइएको समूहका कोषाध्यक्ष गिनेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । यसरी टिमुरखेती गर्ने लहर बढ्न थालेपछि सोही वडास्थित ज्यामिरे, ढिडेगाउँ, ढापस्वाँरा, सिरानखोलालगायतका बासिन्दासमेत टिमुरखेतीतर्फ आर्कर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्