मोटोपन घटाउने भन्दै ‘ग्रीन कफी’ को अवैध कारोवार गर्ने विदेशीसहित २ पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

ग्रीन कफी नियमित रुपमा पिएमा एक सातामा १३ किलो तौल घट्छ भन्दै सामाजिक सञ्जालमा विज्ञापन गरेर ठग्ने एक विदेशी नागरिकसहित एक नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसियन नागरिक ३० वर्षीय ईगोर कुट्स र पोखरा महानगरपालिका–१९ घर भएका ४२ वर्षीय आशिष आचार्य रहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

ग्रीन कफीको अवैध विक्रि गरिरहेका उनीहरुलाई काठमाडौँबाट पक्राउ गरिएको हो । उनीहरुले ‘ग्रीन कफी’ प्रतिकेजी ९ सय ६० रुपैयाँ मा खरिद गरी आफूले बेच्दा प्रतिकेजी ४० हजार सम्म लिने गरेको खुलेको छ । उनीहरुले हालसम्म ७ करोडको बराबरको ग्रीन कफी बिक्री गरेको अनुसन्धानमा खुलेको छ । सो रकम भने उनीहरुले भारत पठाइसकेको देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुको साथबाट २५ थान ल्यापटप, ६ सय ४४ केजी ग्रीन कफी, ४ लाख नेपाली पैसालगाएतका साम्रागी बरामद भएको छ । आफु ठगिएको भन्दै पीडितले केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुर गरेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । पक्राउ परेका उनीहरुविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्