पञ्चकन्याले ल्यायो १० हजार लिटरको एसएस ट्याङ्की



काठमाडौं, (नेस) ।

पञ्चकन्या समूहले भैरहवास्थित विशेष आर्थिक क्षेत्रमा स्टेनलेस स्टिल ट्याङ्की उद्योग सञ्चालनमा ल्याएको छ । पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले सो उद्योगको उद्घाटन गर्नुभयो । उद्योगले आफ्नो उत्पादन कार्य नियमित रुपमा शुरू गर्नेछ । भारतमा निकासी गर्ने उद्देश्यका साथ पञ्चकन्या समूहले एसएस ट्याङ्कीको दोस्रो उद्योग भैरहवा विशेष आर्थिक क्षेत्रभित्र शुरु गरेको छ ।

नेपालमै पहिलोपटक १० हजार लिटरको एसएस ट्याङ्की सो उद्योगबाट उत्पादन हुनेछ । सो उद्योगले २५० देखि १० हजार लिटरसम्मको भर्टिकल तथा होरिजन्टल एसएस ट्याङ्की उत्पादन गर्नेछ । उद्योगले वार्षिक ८० हजार वटा ३०४ तथा ३१६ ग्रेडका एसएस ट्याङ्की उत्पादन गर्नेछ । हाल काठमाडौंस्थित पहिलो उद्योगले भारतको लखनउ तथा कलकत्ता क्षेत्रमा निकासी गरिरहेकोमा दोस्रो उद्योगले उत्तर भारतमा आफ्नो उत्पादन बिक्री गर्ने उद्देश्य राखेको जानकारी समूहका उमहाप्रबन्धक देवेन्द्र साहुले गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्