सामाजिक कुरीति अन्त्यका लागि छोरी जन्माउनेलाई सम्मान



पाल्पा, (नेस) ।

समाजमा छोरा र छोरीबीचको विभेद अझै कायमै छ । महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक नभइदिँदा महिला र पुरुषबीचको यो विभेद आएको हो तर समाजमा व्याप्त यो धारणालाई चिर्ने प्रयास पाल्पाको एउटा गाउँपालिकाले गरेको छ ।छोरा र छोरीबीचको विभेद अन्त्यका लागि पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले छोरी जन्माएर स्थायी बन्ध्याकरण गरेका दम्पतीलाई सम्मान गर्ने परम्पराको थालनी गरी यो विभेद अन्त्य गर्ने प्रयास थालेको हो ।

गाउँपालिकाले यसरी स्थायी बन्ध्याकरण गर्नै ९ दम्पतीलाई सम्मान गरी विभेद अत्त्य गर्ने प्रयास थालेको गाउँपालिका उपाध्यक्ष चेतकुमारी थापाले जनाकारी दिनुभयो । पछिल्लो समय बढ्दो लैंगिक विभेदलाई अन्त्य गरी विभेदरहित समाज निर्माणका लागि दुई छोरी दम्पती सम्मान कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष थापाको भनाइ छ । दुई छोरी दम्पती सम्मान कार्यक्रमबाट ९ जना दम्पतीलाई सम्मान गरिएको हो ।

दम्पती सम्मान कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले यस्तो कार्यक्रमले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्दै छोराको आशामा धेरै सन्तान जन्माउने प्रवृत्ति नरोकिएकाले यसलाई रोक्न कार्यक्रम गरिएको वताउनुभयो ।गाउँपालिकाका सल्लाहकार रामबहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत इन्द्र खत्री, प्रवक्ता विष्णुप्रसाद पोखरेललगायतले बोल्दै यस्ता कार्यक्रमको माध्यमले समाजमा सकारात्मक सन्देश प्रवाह हुने र समाजमा व्याप्त कुरीति अन्त्य गर्न सहयोग पुग्ने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्