‘साइकल सांसदलाई मस्तिष्क घात, उपचारका लागि मागियो सबैको साथ



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली दलित आन्दोलनका अगुवा लालबहादुर विश्वकर्मा विगत तीन महिनादेखि मस्तिष्क घातमा हुनुहुन्छ । पूर्वसहायकमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विश्वकर्मा आर्थिक स्रोतको अभावका कारण सस्तो उपचार खोज्दै अहिले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालमा पुग्नुभएको छ ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा भर्ना भएर उपचार गराउँदै आएका उहाँको दाहिने हात र दाहिने गोडालगायत एकातिरको भाग चल्दैन । असजिलो गरी बोल्नुहुन्छ– ‘सरकार र राष्ट्रपतिज्यूबाट पनि केही सहयोग त भयो, तर लामो समयसम्म उपचार गराउनुपर्ने भएका कारण खर्चको समस्या भने झेल्नुपरेको छ, सबैसँग सहयोगका लागि अनुरोध गर्दछु ।’कीर्तिपुर जानुअघि उहाँलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलको आईसीयूमा राखिएको थियो, त्यसपछि माइतीघरस्थित अन्नपूर्ण अस्पतालले न्युरो विभागमा राखेर उपचार ग¥यो । त्यसपश्चात् उहाँलाई वीर अस्पतालको १ नं. क्याबिनमा राखी उपचार गराइरहेकोमा डाक्टरको सल्लाहअनुसार अत्याधुनिक फिजियोथेरापी गर्नुपर्ने र ठीक हुन ५–६ महिना लाग्ने भनेकाले स्पार्क होम कालीमाटीमा सारियो ।

‘स्पार्क होममा उपचार त राम्रो थियो, तर दिनकै ८–१० हजार रुपियाँ लाग्ने, हामीले थेग्न सकेनौं’, उपचारमा खटेका विश्वकर्माका ज्वाइँ कमल विश्वकर्माले भन्नुभयो– ‘खर्च पनि थोरै लाग्ने, तर उपचार पनि राम्रो हुने भनेकाले हामी यहाँ आएका हौं ।’‘बसाइको खर्च छैन तर औषधीका लागि खर्च गर्नुपरिहाल्यो, यहाँ पनि दैनिक ५–६ हजार रुपियाँको खर्च आइरहेको छ’, छोरा सुरेश विकले थप्नुभयो– ‘गएको दुई–अढाइ महिनामै १५ लाख रुपियाँ सकिइसक्यो ।’उहाँहरुका अनुसार नेपाल सरकारले ५ लाख र राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट २ लाख रुपियाँबाहेक अन्यत्रबाट अहिलेसम्म कुनै सहायता प्राप्त हुनसकेको छैन ।

शरीरको देव्रे पाटो अलिअलि चल्ने, सबैलाई चिन्ने, बोल्ने अवस्थाका विश्वकर्मालाई अत्याधुनिक फिजियोथेरापीको सुविधा प्राप्त हुने हो भने छिटो उपचार हुने डाक्टरहरुले बताएको पनि उहाँहरुले खुलाउनुभएको छ ।सादा जीवन उच्च विचारका अनुयायी विश्वकर्मा २०२९ सालमा कम्युनिस्ट पार्टीमा आबद्ध भएर करिब ११ वर्ष नेकपा एमाले कञ्चनपुर जिल्लाको पार्टी सचिव हुनभयो । पछि राष्ट्रिय सभा सदस्य, जनसंख्या तथा वातावरण सहायकमन्त्री (२०६१)को भूमिकामा पनि उहाँ रहनुभयो । राष्ट्रिय सभा सदस्य (२०५६–२०६१) हुँदा उहाँले आम नेपालीभन्दा आफू भिन्न हैसियतको व्यक्ति नभएको भन्दै संसद् जाँदा–आउँदा साइकल चढ्नु भएपछि उहाँलाई नागरिकस्तरबाट ‘साइकल सांसद’को विशेषण पनि प्राप्त भएको थियो ।

२०१० साल वैशाखमा भोजपुर जिल्लाको कुलुङ–४ स्थित पाखागाउँमा जन्मेका उहाँ कञ्चनपुर जिल्लाको त्रिभुवनवस्ती–८ (साविक)मा बस्दै आउनु भएको छ । उत्पीडित जातीय मुक्ति समाजको अध्यक्ष भएर विश्वकर्माले उपेक्षित, उत्पीडित दलित वर्ग उत्थान विकास समितिलाई जिल्लास्तरमा विस्तार गर्नुभएको जानकारी कमल विश्वकर्माले दिनुभएको छ ।‘नेकपा एमालेमा प्रगतिशील आरक्षण स्थापित गराउने व्यक्ति पनि उहाँ नै हुनुहुन्छ । उहाँलाई प्रगतिशील आरक्षणका प्रणेतासमेत भनिन्छ । अहिले पार्टीमा वार्ड कमिटीदेखि दलित समुदायको प्रतिनिधि गराउन प्रगतिशील आरक्षणले भूमिका खेलेको छ।’ उहाँले स्मरण गर्नुभयो ।

विश्वकर्माले देशलाई छुवाछुतमुक्त राष्ट्र घोषणाा गराउन महत्वपूर्ण भूुमिका खेल्नुभएको पनि उहाँले स्मरण गर्नुभएको छ । २०६३ जेठ २१ का दिन सो घोषणा गरिएको थियो । उहाँकै पहलमा तत्कालीन समयमा प्रमुख सात राजनीतिक दलले छुवाछुतमुक्त राष्ट्र घोषणा गर्न सहमति जनाएका थिए ।‘सो घोषणापछि नै हरेक वर्ष जेठ २१ लाई दलित मुक्ति दिवसका रुपमा मनाउन थालिएको हो।’ –कमल विश्वकर्माले स्मरण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्