वीरगञ्जसहित नेपाल भारत सीमानाका पूर्ण सञ्चालनमा



कृष्णउदास खनाल, वीरगन्ज ।

कोरोनाका संक्रमणसँगै गत वर्षदेखि बन्द भएका वीरगन्जसहितका भारतसँगका नाका बिहीबारदेखि खुला भएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय केन्द्रीय कोभिड– १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले यस्तो निर्णय गरेको हो।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले नेपाल र भारतबीच यातायात सञ्चालन गर्नका लागि सिफारिस गर्ने निर्णय छ।यसअघि माघ ११ को मन्त्रिपरिषदको बैठकले वीरगन्जसहित देशभरका ३० वटा स्थलनाका खोल्ने निर्णय गरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो।

वीरगन्ज नाका नखुल्दा वीरगन्जसहित आसपासका होटलको कारोबार र पर्यटकीय गतिविधि खस्किएको छ। नाका खोल्न माग गर्दै होटल तथा पर्यटन व्यवसायी संघ पर्सा र पर्यटन पत्रकार संघ पर्साले बुधबार उप्रप्रधानमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएको थियो। मन्त्री निवासमै पुगेर दुवै संघले ज्ञापनपत्र बुझाएका हुन्।

वीरगन्ज र यस आसपासका होटल तथा रिसोर्टमा ७० देखि ८० प्रतिशत भारतीय पर्यटकको भरमा चल्ने गर्छन्। पूर्ववत् अवस्थामा पर्यटकीय गतिविधि सुचारु गर्न गत साता होटल तथा पर्यटन व्यवसायी संघ पर्साले ‘पर्यटन पुनरुत्थानका लागि साझेदारी’ कार्यक्रमको घोषणा गरेको छ।

एक वर्ष नाका बन्द हुँदा वीरगन्जका होटल रेस्टुरेन्टको करिब सवा ६ अर्ब लगानी जोखिममा परेको व्यवसायी बताउँछन्। भारतले कात्तिक ६ देखि नेपालतर्फका नाका खुला गरिसकेको छ।नाका खुलाको माग गर्दै हिजो मात्रै पर्साका ब्यवसायी तथा पत्रकारहरुको एक टोलीले उपप्रधानमंत्री इश्वर पोखरेल र पर्यटनमंत्री भानुभक्त ढकालको ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्