राजनीतिकअस्थिरताको उपज अराजकता



दुर्गा दंगाल ‘चाँदनी’

देशले लामो समयदेखि नै राजनीतिक स्थिरता पाउन सकिरहेको अवस्था छैन ।देशकोराजनीतिक अस्थिरताको प्रभाव देशको सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिकहरेक क्षेत्रमा परिरहेको छ । देशको अहिलेको अवस्थालाई नियाल्ने हो भने राजनीतिक अस्थिरताकै कारण देश तथा नेपाली समाज विषम परिस्थितिमा खडा भएको छ । नेपाली समाज विषम परिस्थितिसँग जुध्न थालेको लामो समय भैसक्दा पनि अझ देशले सही बाटो लिएर अगाडि बढ्न नसकिरहेको अवस्था नेपालमा देखिन्छ । जसको फलस्वरुप पछिल्ला दिनहरुमा नेपाली समाजमा हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधहरु दिन–प्रतिदिन तीव्ररुपले बढेर गइरहेका छन् ।

अहिले हरेकसञ्चारमाध्यममा हत्या, हिंसा, बलत्कार, अपहरणजस्ता अपराधका समाचारहरुले प्रमुखता पाइरहेका छन् । समाजमा दण्डहीनताको वृद्धि भैरहेको अवस्था छ । शान्तिका दूत गौतम बुद्ध जन्मेको, मर्यादा पुरुष रामले राज्य गरेको, सीता र भृकुटीजस्ता नारीहरुको देशमा अहिले दैनिकरुपमा घरेलु हिंसा, बालहिंसा, दलित हिंसा, महिला हिंसा, एसिड आक्रमण, बलात्कार, महिला तथा किशोरीहरुमाथि हुने यौन दुराचारजस्ता अपराधका घटनाहरु भैरहेका देखिन्छन् । यस्ता घटनाहरु समाजमा बढेर जानु भनेको देशमा अराजकताको अवस्था हुनु हो । समाजमा अराजकताले प्रभुत्व जमाइरहँदा समाजमा सामाजिक, आर्थिक, धार्मिक, राजनीतिक, सांस्कृतिक विकृति तथा विसंगतिको पराकाष्ठा नै नाघिसकेको अनुभव गर्न सकिन्छ ।अझ नेपाली समाजमा कहालीलाग्दो कुरा त के हो भने, यहाँ आफ्नो धर्म–संस्कृति बिर्सेर विदेशीहरुको आडम्बर गरी रमाउने, विभिन्न सामाजिक सञ्जालहरुको दुरुपयोग गर्ने र राजनीतिक पावरका आडमा आफूलाई ठूलो ठान्ने प्रवृत्ति मौलाएको छ ।

समाजमा दुई–तीन वर्षका कलिला बालबालिकादेखि वृद्धाहरुमाहुने यौन हिंसा–हत्या, आफ्नै हाडनाताभित्र अनि मानसिक सन्तुलन गुमाएका र अशक्तहरुमाथि हुने गरेका यौन हिंसा, हत्या तथा धर्मगुरुहरुले आफ्ना शिष्यमाथि गर्ने गरेको क्रियाकलापका घटनाहरु पनिमिडियाहरुमा प्रमुखताका साथआइरहेका छन् । यस्ता घटनाबाट प्रस्ट हुन्छ कि समाजमा संस्कारयुक्त नैतिक शिक्षाको दिन–प्रतिदिन कमी हुँदै गएको अनुभव गर्न सकिन्छ । साथै समाजमा राक्षसरुपी मानव सभ्यताको विकास हुँदै गएको महसुस गर्न सकिने अवस्था भइसकेको छ । राजनीतिक अस्थिरतासँगै विकास हुँदै गएका यस्ता घटनाले समाज तथा मानिसको जीवनमा कस्तो किसिमको असर पार्दछन् भन्ने कुरा नबुझ्दा यस्ता घटनावृद्धि भइरहेका छन् । आफ्नो व्यक्तिगत इच्छा तथा क्षणिक स्वार्थ पूरा गर्न लालयित हुने हुँदा नै बल प्रयोग गरी वा विभिन्न प्रलोभन देखाएर महिलाहरुको अस्मितामा हिलो खेल्ने गरेको पाइन्छ ।

समाजमा भइरहेका यस्ता घटनामध्येका प्रतिनिधि घटनाहरु निर्मला पन्तको बलात्कारपछिको हत्या, जसको अझ पनि बलात्कारी हत्याराको पत्ता लाग्न सकेको अवस्था छैन । त्यसै गरी कक्षा ६ मा अध्ययनरत मास्टा गाउँपालिका, बझाङकी १२ वर्षीया बालिका सम्झना विकलाई गाईगोठ जाँदा नजिकैको मन्दिरमा लगेर, बलात्कार गरेर, त्रिशूल रोपी हत्या गरिएको थियो । भर्खरै पनिबैतडीको दोगडाकेदार–७,चडेपानीकी १७वर्षीय किशोरी भागीरथी भट्टको विद्यालयबाट घर फर्किने क्रममा बाटोमै बलात्कार गरी हत्या गरिएको खबर विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा सुन्न र पढ्न पाइएको छ । त्यस्तै अर्को घटनाहेटौडा उपमहानगरपालिका–४, कर्रा बस्ने२२ वर्षीया सुस्मिता केसी थापाको आफ्नै ससुराले बलात्कारको प्रयास गरिएको र परिवारहरु मिलेर हत्या गरिएको खबर विभिन्न मिडियाहरुमापढ्न र सुन्न पाइन्छ । समाजमा हुने गरेका यस्ता विविध घटना दिन–प्रतिदिन बढिरहेको अवस्थामा कतिपय घटनाहरुमा पीडकलाई सामान्य कारबाहीमै छाड्ने गरिएको र कतिपय मुद्दाहरुमा न्यायालयबाट पीडितले न्यायसमेत नपाउँदा समाजमा दण्डहीनता दैनिकजस्तो बढिरहेको अनुभव गर्न सकिन्छ । कतिपय घटनामा प्रहरीलेपीडितको उजुरीसमेत नलिएको पनि पाइन्छ ।

नेपाली समाजमा दिन–प्रतिदिन यस्ता जघन्य अपराधका घटना सार्वजनिक भैरहँदा महिला, बालबालिका, किशोरी तथा वृद्धाहरु कतिसम्म सुरक्षित छन् त भन्ने कुराको स्पष्टरुपमा उजागर भएको देखिन्छ । समाजमा अहिले यतिसम्म विकृति फैलिएको छ भने कुनै महिला मात्र नभएर कुनै पनि व्यक्ति घरबाट सकुसल बाहिर आफ्नो काम गर्नका लागि निस्केपछि घर फर्किंदा सकुसल फर्किन्छ कि फर्किंदैन भन्ने पिरले हाम्रा घरका व्यक्तिहरु पिरोलिरहनुपर्ने अवस्था छ । यस्ता बलात्कारकाघटनाहरुलाई सामान्यरुपमा लिएर सामान्यरुपमै मिलाउने प्रयत्न गरिने गरेको पनि देखिन्छ । विभिन्न लोभलालचमा राखी वा पीडित पक्षलाई अझ डर, त्रास, धाकधम्की देखाएर पनि यस्ता जघन्य अपराधका घटनाहरु बाहिर नल्याउने परिपाटीको विकास भएको देखिन्छ । यसले गर्दा बलात्कारबाट वास्तविक पीडित नागरिकको संख्या बाहिर आउन सकिरहेको अवस्था देखिँदैन । समाजले आफूप्रति गर्ने व्यवहार एवं भविष्यप्रतिको चिन्ताका कारण पनि यस्ता घटना समाजमा गुमनाम नै रहने गरेको पाइन्छ ।

विश्वमा करिब३५ प्रतिशत महिला यौनजन्य हिंसाको सिकार हुने गरेको देखिन्छ । विश्वको आँकडा हेर्ने हो भने पनि यौनजन्य हिंसाबाट पीडित महिलाहरुमध्ये १० प्रतिशतभन्दा कम महिला मात्र कानुनीरुपमा उपचार खोज्ने र पीडकलाई कानुनी कारबाहीको लागि कानुनी प्रक्रियामा सामेल हुने गरेको पाइन्छ । नेपालको तथ्यांक हेर्ने हो भने पनिएक लाखजनामध्ये ०.८० प्रतिशत जना यौनजन्य हिंसाको सिकार हुने गरेको देखिन्छ ।नेपालमा समाजले आन्तरिकरुपमै घटनाहरु मिलाउन खोज्ने तथा पीडित महिलाहरु स्वयंले समेत आफ्नोतथा परिवारको इज्जतको डरले घटना बाहिर ल्याउन नखोज्ने कारणले पीडितको संख्या न्यून देखिएको छ । तर नेपाली समाजमा यस्ता घटनाबाट पीडित हुने वास्तविक पीडितहरुको संख्या अत्यधिक रहेको अनुभव गर्न सकिन्छ। विश्वकै घटनाहरुलाई नियाल्दापनि प्रत्येक १ लाख जनसंख्यामा १०.०६ प्रतिशत मानिस पीडित हुने गरेको पाइन्छ ।

विविध कारणले यौनजन्य हिंसाका घटनाहरु प्रहरीसमक्ष दर्ता हुन आउने गर्दैन । यसरी वास्तविक पीडितहरुलेनै घटना लुकाइदिँदा पीडकहरु थप हौसिने र यस्ता घनामा संलग्न हुनथप प्रोत्साहित हुने गरेको पाइन्छ । यसतर्फ सजग भई पीडकलाई कानुनी दायरामा ल्याउनको निम्ति पीडितहरुले कानुनी उपचार खोज्नै पर्दछ । समाजले पीडित भैसकेको व्यक्तिलाई सकारात्मक दृष्टिले हेर्नुका साथै सकारात्मक व्यवहार गर्न सक्नुपर्दछ । राज्यका तर्फबाट त्यस्ता पीडितहरुलाई कुनै किसिमको प्रलोभनमानपारी सत्यतथ्य पत्ता लगाएर पीडकलाई हदैसम्मको सजायदिनुपर्दछ । यदि पीडितप्रति समाज, राज्य, व्यक्ति तथा परिवारले गर्ने नकारात्मक व्यवहारमा परिवर्तन गर्न नसकिएको अवस्थामा यस प्रकारका घटना समाजमा सधैँ गौण नै रहने गर्दछन् । जसको कारण समाजमा अशान्ति, असभ्य, अराजकता कम हुनुको सट्टा अझ बढेर जाने नै देखिन्छ ।

नेपालमा विभिन्न प्रकारका ऐन–कानुनहरुको निर्माण त भएकै छन् । तरती ऐन कानुनको कडाइका साथ कार्यान्वयन हुने पक्ष भने केही हदसम्म फितलो नै भएको अनुमान गर्न सकिन्छ । नेपालको संविधान २०७२ ले विभिन्न मौलिक हकहरुको व्यवस्था गरेको छ । नेपालको मुलुकी अपराध संहिता २०७४को भाग २ को परिच्छेद १८ को दफा २१९ देखि २२९ सम्म करणीसम्बन्धी कसुर तथा सजायसम्बन्धीस्पष्टरुपमा उल्लेख गरिएको छ । तर यी मौलिक हक तथा नियम–कानुनद्वारा प्रदत्त हक–अधिकारहरुबाट व्यक्तिलाई वञ्चित गराइने गरेको देखिन्छ ।नियम–कानुन उल्लङ्घन गरी देश तथा समाजमाव्यक्तिकोमृत्युगराउने प्रवृति तीव्ररुपमा बढेर गएकाप्रशस्त घटना विभिन्न मिडियाहरुमासुन्न र पढ्न पाइन्छ ।

यसरी नेपाली समाजमा यस्ता घटना झन् तीव्ररुपमा बढ्दै गएको देखिनु भनेको कानुनको कार्यान्वयन पक्ष फितलो देखिनु नै हो। साथै कानुन सबैका लागि समानरुपमा लागू हुन नसकेको अनुभव गर्न सकिन्छ । कानुनी राज्यमा कानुन सबैभन्दा माथि हुन्छ । त्यसैले कानुन सबैका लागि समान हुनुपर्दछ साथसाथै सम्बन्धित निकाय तथा प्रत्येक नागरिकले राज्यमा भएका कानुन अक्षरशः कडाइका साथ कार्यान्वयन गरी÷गराई कानुनको पालना गर्नु÷गराउनुपर्दछ । समय परिस्थितिअनुसारका ऐन–कानुनहरु निर्माण गरी राज्यले कडाइका साथ लागू गर्न सक्नुपर्दछ ।
मुकुकी अपराध संहिता २०७४ मा करणीसम्बन्धी कसुरको सम्बन्धमा स्पष्टरुपमा गरिएको परिभाषा तथा पीडकलाई दिइने दण्ड, सजाय र पीडितले पाउने न्यायका सम्बन्धमा प्रस्टरुपमा उल्लेख छ । यसो भए तापनि समाजमा भइरहेका बलात्कारका घटनाहरुमा झन् वृद्धि हुँदै जानुले कानुनी राज्यलाई ठाडो चुनौती दिँदै समाज विकृति उन्मुख हुदै गएको रभ्रष्टीकरण, अशान्ति, अराजकतातर्फ समाज गइरहेको महसुस गर्न सकिन्छ ।

हुन तसमाजमा विभिन्न संघसंस्था, एन.जी.ओ., आई.एन.जी.ओ.हरुले बलात्कारका विरुद्धमा विभिन्न अभियान नै चलाएर क्रियाकलापहरु गरी नै रहेका छन् । मानव अधिकारकर्मीहरुका विविध मागहरुमध्ये बलात्कार नियन्त्रणको विषय पनि एउटा महत्वपूर्ण र पहिलो माग हुने गरेको देखिन्छ । अन्तर्राष्ट्रिय समुदायहरुको समेत बलात्कारमुक्त समाज भन्ने नारा नै रहेको भए तापनि समाजमा जबसम्म राजनीतिक स्थिरता, नैतिक शिक्षा, सकारात्मक सोचको विकास, निःस्र्वाथ भावनाको विकास हुन सक्दैनतबसम्म यस्ता प्रकारका जघन्य अपराधहरुमा कमी आउन सक्ने अवस्था देखिँदैन ।त्यस्तै गरी जबसम्म महिलाहरु स्वयं निर्धक्क भएर पीडकको दण्ड, सजायकोनिम्तिकानुनीउपचार खोज्न सक्ने अवस्थामा हुँदैनन् र न्यायपालिका तथा प्रशासनबाट समेत निष्पक्ष निर्णयको अभिलाषा पाउन सकिँदैन तबसम्म समाजमा बलात्कार, हत्या, हिंसाका घटनाहरुको अन्त्य हुन सक्दैन । जबसम्म पीडित महिलामाथि समाजबाटै गरिने अन्यायपूर्ण व्यवहार र लुकिछिपी घटना सामसुम पार्ने परिपाटीको अन्त्य हुँदैन तबसम्म बलात्कार, हत्याजस्ता घटनामा कमी आउँदैन, बरु बढेर जाने हुन्छ । त्यसैले राज्यले पीडक र घटनालाई मिलाउन अग्रसर हुनेसमेतलाई कडाभन्दा कडासजाय गर्ने तथा यस्ताघटनामा पीडित हुने पक्षलाई छिटोभन्दा छिटो न्याय सम्पादन गरी सही न्याय दिने व्यवस्था गर्न अति नै जरुरी भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्