खनाल–नेपाल समूहको निष्कर्ष गुटगत भेलाले एकता कमजोर



मधुसूदन रायमाझी, काठमाडौं ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण पार्टी एकताको आधार कमजोर भनेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले निष्कर्ष निकालेको छ। सर्वोच्च अदातलले पार्टी ब्युँताउने फैसला गरे पनि अध्यक्ष ओलीले गुटगत भेला गरेर एकताको आधारलाई कमजोर बनाएको खनाल–नेपाल समूहले आरोप लगाएको छ।

ओलीले उक्त समूहलाई भेला नगर्न चेतावनी दिए पनि बुधबारबाट ललितपुरको एक पार्टी प्यालेसमा दुईदिने राष्ट्रिय कार्यकर्ता भेला शुरू भएको छ। पार्टीका पूर्व अध्यक्ष तथा वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा आयोजित भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले अवधारणापत्र पेस गर्नुभएको छ। खनाल–नेपाल समूहले फागुन २८ गते अध्यक्ष ओलीले गुटगत स्वार्थमा केन्द्रित भएर लिएको निर्णयले नै पार्टी एकतालाई कमजोर बनाउने निष्कर्ष निकालेको छ।खनाल–नेपाल समूहले ओलीको असंवैधानिक कदमको सशक्तरूपमा प्रतिवाद गर्ने बताउँदै एकतालाई कमजोर बनाउन गरिएका प्रयासलाई असफल बनाउने अवधारणापत्रमा नेपालले उल्लेख गर्नुभएको छ। अवधारणापत्रमा २०७५ जेठ २ मा कायम रहेका सबै पार्टी कमिटी, निकाय, जनसंगठन र विभागहरूको पुनःस्थापना गर्नुपर्ने माग अगाडि सारिएको छ।

पार्टीलाई नवौं महाधिवेशनको कार्यदिशा र विधानको आधारमा सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै अवधारणापत्रमा नवौं महाधिवेशनपछि उत्पन्न भएका सबै विवादको विधिसम्मत समाधान खोजिनुपर्नेमा जोड दिइएको छ। खनाल–नेपाल समूहले एमालेको एकतालाई बचाउन पूर्वसर्त २०७५ जेठ २ गतेलाई प्रस्थान विन्दु बनाएर पार्टी जीवनलाई सुचारु गर्नुपर्ने बताएको छ। अवधारणापत्रमा आगामी दिनमा कम्युनिस्ट पार्टीको विजयलाई सुनिश्चित गर्न पार्टीलाई एकता, पुनर्गठन र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्ने स्पष्ट कार्यदिशा लिनुपर्ने बताइएको छ।अवधारणापत्रमा पार्टीमा स्वैच्छाचारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृत्ति हुर्किएका कारण अहिलेको अवस्था उत्पन्न भएकाले तिनका विरुद्धमा दृढतापूर्वक लड्नुबाहेक पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई बचाउने अरू कुनै उपाय नभएको उल्लेख गर्दै त्यसका लागि पार्टी पंक्तिलाई परिचालन हुनुपर्नेमा जोड दिइएको छ।

पार्टी पंक्तिले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिका, वर्तमान अवस्थाका चुनौतीहरू र आगामी कार्यभारहरूका बारेमा अवधारणापत्रमा उल्लेख गरिएको छ।भेलामा कमलप्रसाद कोइराला, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, शीतल झा, राधाकृष्ण मैनालीको पनि सहभागिता रहेको थियो। एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भेलामा देशभरिबाट चार हजार नेता–कार्यकर्ता सहभागी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार अवधारणापत्रमाथि छलफल गर्न सहभागीलाई सात प्रदेशका साथै सम्पर्क कमिटी, जनसंगठन तथा पेसागत संगठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूहमा विभाजन गरिएको छ। आ–आफ्नो समूहमा छलफल गरी टोली नेतामार्फत आज सुझावहरू पेस गर्ने र ती सुझावलाई समेत ध्यानमा राखी अवधारणापत्र पारित गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्