आर्मी र एपीएफको विजयी शुरुआत



गणेश घिमिरे, इलाम ।

इलाममा शुरू भएको दोस्रो संस्करणको ‘इलाम आमन्त्रण खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले सुखद शुरुआत गरेको छ ।आर्मीले विमान ट्रेडर्स बिर्तामोड झापालाई समग्रमा ३–२ को सेटमा हराएकोहो ।

पहिलो सेटमा आर्मीले विमानलाई २५–१७ को सेटमा हरायो भने दोस्रोमा विमानले आर्मीलाई २५–१८ को सेटमा हरायो । तेस्रोमा आर्मीले विमानलाई २५–१८ को सेटमा हराउँदा चौथोमा विमानले आर्मीलाई २५–२१ को सेटमा स्तब्ध पा¥यो । प्रतिस्पर्धामक बनेको खेलको निर्णायक सेटमा भने आर्मीले विमानलाई १५–८ को सेटमा हराएर विजयी शुअवात गरेको हो ।यस्तै, दोस्रो खेलमा विभागीय टिम एपीएफ क्लबले अर्को चिरपरिचित विभागीय टोलीमाथि पनि समग्रमा ३–२ को सेटले हराएर सुखद नतिजा निकालेको छ । पहिलो र दोस्रो सेटमा एपीएफले पुलिसलाई लगातार २६–२४ र २५–२२ को सेटमा हराउँदा तेस्रो र चौथोमा पुलिसले एपीएफलाई लगातार २५–१८ र २५– १६ को सेटमा हराएर २–२ को बराबरी बनाएको थियो ।

तर, निर्णायक खेलमा भने एपीएफले पुलिसमाथि १५–१० को सेटमा हराएर विजय यात्रा प्रारम्भ गरेको छ ।यस प्रतियोगितामा तीन विभागीय टिमसहित गण्डकी प्रदेशलाई उपाधि दाबेदार टिमको रूपमा हेरिएको छ । जिल्ला भलिबल संघ इलामले आयोजना गरेको प्रतियोगितामा सात टिमले सहभागिता जनाएका छन् । लिग कम नकआउटका आधारमा शुरू भएको प्रतियोगिताको फाइनल खेल आउँदो चैत ८ गते सम्पन्न हुनेछ ।उक्त प्रतियोगितामा सात टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आर्मी, विमान, गौरदह नगर खेलकुद विकास समिति झापा र गण्डकी प्रदेश रहेका छन् । यस्तै, समूह ‘बी’ मा एपीएफ, पुलिस र दमक नगर भलिबल क्लब झापा रहेका छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमीफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै, तेस्रो हुने टिमले नगद ५० हजार रुपैयाँ पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्