दुवै समूह आक्रामक



नेपाल समाचारपत्र, काठमाडौं  ।

सर्वोच्च अदालतको फैसलाअनुसार ब्युँतिएको नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ। अदालतको फैसलाले पार्टी ब्युँतिएसँगै उत्पन्न भएको एमालेको विवाद जटिल मोडमा पुगेको हो।पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा फागुन २८ गते महासचिवबाहेक सबै पदाधिकारीको जिम्मेवारी खोस्ने र नयाँ केन्द्रीय सदस्य थप गर्न गरिएको निर्णय मान्य नभएको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बताएको छ। अध्यक्ष ओलीको एकलौटी निर्णय मान्य नभएको भन्दै नेपाल समूहले आज र भोलिका लागि राष्ट्रिय कार्यकता भेलाको आयोजना गरेको छ।

संवाद टुटेको झन्डै चार महिनापछि सोमबार पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष ओली, वरिष्ठ नेता खनाल समूहबीच वार्ता भए पनि कुनै सहमति जुट्न सकेन। फागुन २८ को निर्णय फिर्ता नलिने अडान ओलीले लिएसँगै नेपाल पक्ष निर्धारित राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णयमा पुगेको हो। ओलीले भेला रोक्न चेतावनी दिए पनि नेपाल समूहले भने पार्टीलाई स्वैच्छाचारीरूपमा अगाडि बढाएको आरोप लगाउँदै देशभरका कार्यकर्ताको भेला आयोजना गरेको छ। ओलीले पदाधिकारीको जिम्मेवारी खोस्दै प्रदेश इन्चार्जमा नयाँलाई तोकेसँगै नेपाल समूहले सातवटै प्रदेशमा समानान्तर कमिटी गठन गरेर जिम्मेवारी तोक्ने काम भएको छ। नेपाल पक्षले २०७५ जेठ २ गते अघि कायम रहेको सांगठनिक संरचनालाई आधार बनाएर अगाडि बढ्नुपर्ने अडान लिएपछि र ओली समूहले नेकपा दुई समूहमा विभाजित भएपछि गठन गरेको कमिटीलाई नै निरन्तरता दिने निर्णय गरेपछि तनाब बढेको हो।

पार्टी ब्युँतिएसँगै शुरु भएको एमालेभित्रको विवाद करिब विभाजनको संघारमा पुगेको छ। पार्टीको संसदीय दलमा ओली बहुमतमा रहे पनि केन्द्रीय कमिटीमा भने नेपाल समूह बराबरीको अवस्थामा रहेको छ। नेकपा एमाले नेपाल समूहको आजबाट राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला हुने भएको छ। नेपाल समूहले बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरूपमा पार्टी पंक्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको बताएको छ।

एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले पार्टी कठिन अवस्थाबाट गुज्रिरहेको घडीमा धैर्य र संयमताका साथ पार्टीको सुदृढ एकता र विधानसम्मत सञ्चालनका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकमा आग्रह गर्नुभयो। राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मतरूपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल हुने उहाँले बताउनुभयो। भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणापत्र प्रस्तुत गरिने बताउँदै उहाँले टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्न पाउने गरी छलफल हुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्