बार्सिलोनाको सहज जित



लन्डन, (एजेन्सी) ।

बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित आत्मसात गरेको छ ।कप्तान लिओनल मेसीले दुई गोल र एक असिस्ट गरेपछि बार्सिलोनाले लिगको २७औं साताको खेलमा सहज जित निकालेको हो । सोमबार राति भएको खेलमा बार्सिलोनाले लिगको सबैभन्दा पुछारमा रहेको टिम हुएस्कामाथि ४–१ को फराकिलो गोलअन्तरको जित निकाल्न सफल भयो । आफ्नो घरेलु मैदानमा बार्सिलोनालाई जिताउन तीन जना फरक–फरक खेलाडीले गोल गरे ।

क्याम्प नोउ रंगशालामा भएको खेलमा बार्सिलोनाका लागि पहिलो गोल खेलको १३औं मिनेटमा कप्तान लिओनल मेसीले गरेका थिए । सर्जियो बुस्केट्सको पासमा मेसीले डी–बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । मेसीले तल्लो बार च्यापेर हानेको कडा प्रहार बारमा लाग्दै गोल भएको थियो । उनको प्रहार हुएस्काका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन् ।त्यसपछि, दोस्रो गोल खेलको ३५औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गरे । ग्रिजम्यानले पनि मेसीलेझैँ डी–बक्स बाहिरबाट लामो दूरीबाट दर्शनीय गोल गरेका थिए ।

सो गोलमा युवा खेलाडी पेड्रीले असिस्ट गरेका थिए । तर, बार्सिलोनाले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत् गोल बेहो¥यो । हुएस्काका खेलाडी बल लिएर डी–बक्सभित्र पुगेका बेला बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टर स्टेगेनले उनलाई लडाएपछि रेफ्रीले हुएस्कालाई सोझै पेनाल्टीको अवसर दिएका थिए । जसमा राफा मिरले गोल गरेर खेल २–१ बनाए ।त्यसपछि दोस्रो हाफ शुरू भएपछि ५३औं मिनेटमा बार्सिलोनाले तेस्रो गोल थप्यो । यसपटक डिफेन्डर ओस्कार मिङ्गुएजाले फ्री हेडरमा बललाई जाली चुमाए । सो गोलमा कप्तान मेसीले असिस्ट गरेका थिए ।

बार्सिलोनाको सिनियर टोलीमा उनका लागि यो पहिलो गोल थियो । त्यसपछि खेलको ९०औं मिनेटमा कप्तान मेसीले डीबक्स बाहिरबाट अर्को शानदार गोल गरेपछि खेल बार्सिलोनाले ४–१ ले जित्यो । सो गोलमा सब्सिच्युट खेलाडी ट्रिनकाओले असिस्ट गरेका थिए ।अब यो जितसँगै बार्सिलोनाले उपाधि होडमा लिग लिडर एथ्लेटिको मेड्रिडमाथि दबाब कायमै राखेको छ । बार्सिलोनाले २७ खेलबाट कुल ५९ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्