मकवानपुरमा फिल्मसिटीको चर्चा



हेटौंडा, (नेस)।

मकवानपुरमा फिल्म छायांकनका लागि पूर्वाधारयुक्त स्थान बनाउनुपर्नेमा जोड दिइएको छ। चलचित्र पत्रकार संघ नेपाल मकवानपुरको १२औं वार्षिक साधारणसभामा यसबारे जोड दिइएको हो।

सभामा चलचित्र पत्रकार संघ नेपाल संगठन उपाध्यक्ष कुवेर डंगोलले मकवानपुर फिल्म छायांकनका लागि उपयुक्त भएको जनाउँदै फिल्म छायांकनबाट स्थानीय पर्यटन प्रवद्र्धन गर्र्न सुझाएपछि उक्त विषयले फेरि चर्चा पाएको हो। विशेष गरी पर्यटकीयस्थलका रुपमा चिनिएको उत्तरी मकवानपुरको होमस्टे तथा त्यसवरिपरिका दृश्यलाई फिल्ममा उतार्दा दर्शकलाई नयाँ स्वाद हुने र प्रचारप्रसारलाई सहयोग पुग्ने थाहानगरबासीले बताउँदै आएका छन्। केही सम्भावनाजन्य पूर्वाधार पूरा गर्न सके फिल्म छायांकनका लागि पालुङ क्षेत्र उत्कृष्ट बन्न तथा छायांकनका लागि केन्द्र र प्रदेश राजधानीबाट नजिक थाहानगर उत्तम रोजाइ हुने नगरका मेयर लवशेर विष्टले कलाका कार्यक्रममा बताउँदै आएका छन्।

‘नेपालले चलचित्र विकास बोर्ड, पर्यटन मन्त्रालय, सञ्चार मन्त्रालय, अर्थ मन्त्रालयसँग सहकार्य गरेर मात्र आधुनिक फिल्मसिटी बनाउन सम्भव छ’, मेयर विष्टले भने– ‘फिल्मसिटी बनाउन झन्डै १५ अर्बजति बजेट लाग्ने सुनेको छु। पैसा जुटाउन सबैकोे सहयोग जरुरी हुन्छ।’ उनले थाहा नगरमा हलिउड शैलीको फिल्मसिटी बनाउनुपर्नेमा जोड दिएका छन्। सिंगापुर तथा हलिउडका अन्य फिल्म स्टुडियोमा सबै किसिमका सुविधा रहेकाले त्यही शैलीको स्टुडियो स्थानीयस्तरमा बनाउनुपर्ने उनको बुझाइ छ। नेपाली चलचित्रका निर्माता पछिल्लो समय उत्कृष्ट फिल्म निर्माणका लागि लालयित हुने गरेका देखिन्छ। आँखालाई शीतलता दिनसक्ने लोकेसन हन्टिङका लागि मेकरहरु समय नै खर्च गरेर निस्कने गरेका छन्। यही परिवेशलाई केही हदसम्म भए पनि सहयोग होस् भन्ने हेतुले नगरले प्रयास थालेको थाहानगर मेयर विष्ट बताउँछन्।

सिनेमा छायांकनका लागि भरपुर प्रयोग गरिँदै आएको छ– उत्तरी मकवानपुरको दामन–पालुङ क्षेत्र। उक्त क्षेत्रमा प्रशस्त संख्यामा फिल्म छायांकन हुँदै आएका छन्। केही वर्षअघि त्यहाँ फिल्मसिटी बनाउनेबारे बहस नै चलेको थियो।बागमती प्रदेशमा फिल्मसिटी निर्माण हुने प्रदेश सरकारले जनाउँदा प्रधानमन्त्री केपी ओलीसँग भारतको एस्सेल ग्रुप प्रमुख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइज अध्यक्ष सुवास चन्द्रा तथा सिने कलाकार जया प्रदालगायतले भेटेका थिए। भारतीय समूह फिल्म सिटी निर्माणका लागि स्थलगत अध्ययन गरेर फर्किएको थियो।

अध्ययनपछि जी इन्टरटेनमेन्ट इन्टरप्राइजका अध्यक्ष चन्द्राले नेपालका सुन्दर परिवेशले आफूलाई आकर्षित गरेको बताएका थिए। उनले ती ठाउँबारे प्रशंसाका शब्द खर्चिएका थिए।चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा सम्पन्न सभामा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले मुलुकमा पूर्णप्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम रहनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्