सिद्धबाबालाई सफाइ दिने आदेशविरुद्ध पुनरावेदन



विराटनगर, (नेस) ।

सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार मुद्दामा सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलासँग असन्तुष्ट सरकारी वकिलको कार्यालयले विराटनगर उच्च अदालतमा पुनरावेदन गरेको छ।

उच्च अदालत विराटनगरका प्रवक्ता ओमराज सुवेदीले दिएको जानकारीअनुसार आइतबार उच्च अदालतमा पुनरावेदन रजिस्ट्रेसन भएको हो। आफ्नै महिला अनुयायीमाथि बलात्कार गरेको मुद्दामा उनलाई निर्दोष ठहर गर्दै सुनसरी जिल्ला अदालतले सफाइ दिएको थियो। ‘अनुयायी महिलाले मोहित भएर शरीर समर्पित गरेको’, ‘सहमतिमै सम्बन्ध कायम गरेका कारण बलात्कार भन्न नमिल्ने’ जस्ता शब्दावलीसहितको फैसलाबारे पुनरावेदन गर्ने सुनसरी सरकारी वकिल कार्यालयले पहिल्यै बताएको थियो। आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको अभियोगमा थुनामा रहेका बेला उनलाई गएको मंसिर २२ मा जिल्ला अदालतले सफाइ दिएको थियो।

प्रतिक्रिया दिनुहोस्