प्रतिनिधिसभाको बैठकमा शोक प्रस्तावको कार्यसूची



न्युज अफ नेपाल ,काठमाडौं ।

प्रतिनिधिसभाको आजको बैठकमा पनि शोक प्रस्तावको कार्यसूची छ । दिउँसो १ बजे बोलाइएको बैठकमा सभामुख अग्‍नि सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १ को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

यसअतिरिक्त संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको पनि सम्भावित कार्यक्रम सम्बन्धी सूचनामा उल्लेख छ । सर्वोच्च अदालतको फागुन ११ को फैसलापछि पनुर्स्थापित भएको प्रतिनिधिसभा बैठक फागुन २३ देखि बस्दै आएको छ । फागुन २३ मा सर्वोच्च अदालतले साविक नेकपाको एकतालाई अवैध ठहर गरेपछि सरकार गठनमा निर्णायक बनेका कांग्रेस, माओवादी केन्द्र र जसपाले प्रधानमन्त्रीमा आफ्नै दलको नेतृत्व दाबी गरिरहेका छन् ।

सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सरकार पक्षका सांसदले बैठकमा कुनै कार्यसूची राख्न नहुने बताएका थिए । एमाले मुख्य सचेतक विशाल भट्टराई, सांसदहरु शान्ता चौधरी र खगराज अधिकारीले दलहरुबीच कुनै सहमति नभएकाले बैठकमा कुनै कार्यसूची नराख्न दबाब दिए। दलहरूबीच सहमति नजुटेपछि संसद सचिवालयले आजको बैठकमा शोक प्रस्ताव मात्रै पारित गर्ने कार्यसूची तयार पारेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्