पाँच कलाकारको चित्र प्रदर्शनी



राजधानीको लसता मार्ग सोल्टीमोडस्थित सोभिनियर ग्यालरी क्याफेमा आरम्भ भएको ५ चित्रकारको सामूहिक चित्रकला प्रदर्शनीको ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले शुभारम्भ गरेका छन्।

अग्रज कलाकार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरको सभापतित्वमा रोटरी क्लब स्वयम्भू, सुषमा आर्ट कन्सर्न र सोभिनियर्स ग्यालरी क्याफेको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा अग्रज कलाकार कृष्ण मानन्धर, सुषमा राजभण्डारी, कृष्णप्रकाश शाह, नेमबहादुर तामाङ, मुकेश श्रेष्ठलगायतका चित्रकारको सामूहिक चित्रकला राखिएको छ।

समारोहमा सुरसुधा ब्यान्डका तवलावादक सुरेन्द्र श्रेष्ठ, बाँसुरीवादक प्रेम राना र गायिका सरस्वती खत्रीको गायन प्रस्तुतिले रौनकता थपेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेता हरिवंश आचार्यले आफू पनि चित्रकार भएको खुलाए। आचार्यले गाईको चित्र बनाउँदा कुकुरको चित्र बनेको प्रसंग उल्लेख गर्दै पृथ्वी नै एउटा कलाको गुरु भएको चर्चा गरे। ‘यहँँका हिमालहरु आफैमा चित्रकला हुन्।’ –आचार्यले भने। एक महिनासम्म चल्ने प्रदर्शनीबाट बिक्री भएको चित्रको ६० प्रतिशत सम्बन्धित कलाकारलाई २० प्रतिशत रोटरी क्लबका बालबालिका र बाँकी २० प्रतिशत ग्यालरी सञ्चालकलाई उपलब्ध गराउने आयोजक संस्थाका सञ्चालक सतीन्द्र श्रेष्ठ जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्