संकटालाई हराएर मच्छिन्द्र सेमिफाइनलमा



हेटौंडा, (नेस) ।

हेटौंडामा जारी ‘शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिता’मा सोमबार काठमाडौंको मच्छिन्द्र क्लब विजयी भएको छ ।
राजेश परियारको गोल नै निर्णायक बनेपछि मच्छिन्द्रले छिमेकी संकटा क्लबलाई १–० ले हराएको हो । २४ औं मिनेटमा परियारको उत्कृष्ट गोल नै मच्छिन्द्रलाई जित दिलाउन पर्याप्त भयो । योसँगै मच्छिन्द्र प्रतियोगिताको सेमीफाइनलमा पुग्यो । मच्छिन्द्रका परियार ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।

गोल गरेलगत्तै नेपाली फुटबल टोली तथा मच्छिन्द्रका खेलाडी विमल घर्तीमगरप्रति उक्त गोल समर्पित गर्दै परियारले शीघ्र स्वास्थ्यलाभको कामनासहित टिसर्ट प्रदर्शन गरी गोलको खुशीयाली मनाएका थिए । चैत ४ गते हुने सेमिफाइनलमा आयोजक टोली साविक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुरसँग मच्छिन्द्रले प्रतिस्पर्धा गर्नेछ ।प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई स्तब्ध पार्दै सर्लाहीको बागमती युथ क्लब क्वार्टरफाइनल प्रवेश गरिसकेको छ । बागमतीले एपीएफलाई २–१ गोलअन्तरले हराएको थियो । ८३ औं मिनेटमा बागमतीका खेलाडीले डीबक्स क्षेत्रमा ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै रवि थिङले गोल गरेका थिए । जारी तेस्रो संस्करणको प्रतियोगितामा पहिलोपटक सहभागी बागमतीले एपीएफमाथि अप्रत्याशित नतिजा निकालेको थियो ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिता विजेता टोलीले ट्रफीसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफीसहित नगद ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाइक हात पार्नेछन् । विधागत उत्कृष्ट खेलाडी ट्रफीसहित नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्