स्कुले विद्यार्थीले बनाए फिल्म



राजधानीको राराहिलस्थित थिएटर मल कीर्तिपुर रंगमञ्चमा केही स्कुले विद्यार्थी कोही चउरमा, कोही थिएटर प्रवेश गर्ने खुड्िकलामा, कोही नजिकैको खेतमा त कोही थिएटरभित्र आ–आफ्नो समूहमा थिए।

उनीहरुमध्ये केहीले अभिनय गरिरहेका थिए भने समूहका एकले मोबाइल क्यामेराले साथीले अभिनय गरेको दृश्य खिचिरहेका थिए। अर्को साथी भने हातमा उनलाई कापीमा कोरेका चित्रहरु (स्टोरी बोर्ड) देखाइरहेका थिए। त्यस्तै अर्को एक विद्यार्थी भने एक्सन–कट भनिरहेका थिए। वास्तवमा उनीहरु त्यहाँ फिल्म बनाउने अभ्यास गरिरहेका थिए। उनीहरु थिएटर मल कीर्तिपुर रंगमञ्चमा लियो क्लब अफ काठमाडौं विशालबजारले आयोजना गरेको फिल्म मेकिङ वर्कसपमा जुटेका हुन्। बालबालिकाका लागि आयोजना गरिएका कार्यशालामा ग्रिन पिस एकेडेमीका विद्यार्थी सहभागी थिए।

दुई दिने कार्यशालामा फिल्मका अत्यन्त आधारभूत कुराहरु सिक्दै, बुझ्दै उनीहरु त्यसलाई अभ्यास गर्दा रमाइरहेका देखिन्थे। पहिलो प्रशिक्षकहरुले निश्चित गरिदिएका निकै थोरै सटमा ३० देखि ४५ सेकेन्डमा कथात्मक भिडियो बनाएका उनीहरुले दोस्रो दिन भने त्यसमा आएको प्रतिक्रियालाई लिएर परिमार्जन गर्ने प्रयत्नमा थिए। दोस्रो दिन उनीहरुले अघिल्लो दिनको भन्दा दोब्बर सटमा कथा भन्न पाउने थिए। प्रशिक्षकहरुले उनीहरुलाई कथात्मक तवरमा २ मिनेटसम्मको छोटा फिल्म बनाउन भनेका थिए, त्यो पनि तीन घण्टाभित्रमा। सोही अनुरुप उनीहरुको दौडधूप राम्रै देखिन्थ्यो। पहिला उनीहरुले कथा बुने अनि त्यस कथालाई दृश्यमा भन्नका लागि के के खिच्ने, कुन कुन सटमा खिच्ने भनेर तय गरे। त्यसलाई स्टोरीबोर्ड बनाएर स्केचमा पनि उतारे। त्यसपछि सुटिङ गर्ने ठाउँ निश्चित गरेर सुटिङमा एक्सन–कट गरे। त्यसरी खिचिएको फुटेजलाई समूहले नै सम्पादन गरे, केही समूहले त ब्याकग्राउन्ड म्युजिकसमेत राख्न भ्याए।

तीन घण्टाभित्रमा बनेका ती छोटा फिल्मलाई थिएटर हलभित्र सामूहिकरुपमा हेरे। आफै रमाए ताली बजाए। बालबालिकाले दुई दिनकै कार्यशालामा यस किसिमको सिर्जना गरेर सबैलाई दंग बनाएका थिए। प्रशिक्षकहरु फिल्म सम्पादक तथा निर्देश शिव पुरी, साउन््रड डिजाइनर किशोर आचार्य र कलाकार तथा निर्देशक केदार श्रेष्ठ पनि मख्ख थिए। उनीहरुलाई बालबालिकाले छोटो समयमा आफ्नो सिर्जना प्रस्तुत गरेकोमा बधाई दिँदै ताली बजाइरहेका थिए। दुई दिनको कार्यशालामा उनीहरुले फिल्मको सामान्य अवधारणागत विषय सिकाएका थिए। ‘हामीले फिल्म बन्ने प्रक्रियाका बारेमा बताउँदै सट, सिन, सिक्वेन्सका कुराहरु सरसर्ती भनेका थियौं, विद्यालयस्तरका विद्यार्थीमा कम्तीमा पनि फिल्मको सामान्य प्रोसेसको बारेमा जानकारी भयो भने उनीहरुले आफ्नै पहलबाट भए पनि भविष्यमा विशेषज्ञता हाँसील गर्न सक्छन् वा आप्mनो रुचिको विषय छनोट गरी राम्रो फिल्ममेकर बन्ने सम्भावन हुन्छ भनेर निर्देशनसँगै सम्पादन र ध्वनिलाई पनि प्राथमिकतामा राखेर कार्यशाला डिजाइन ग¥यौं’, प्रशिक्षकमध्ये एक शिव पुरीले भने‘ ‘हामीले अभ्यासका क्रममा विना संवाद ध्वनिहरु मात्र प्रयोग गरेर फिल्म बनाउन उहाँहरुलाई भनेका थियौं। त्यहीअनुरुप यी फिल्म बनाएका हुन्।

एउटा कुनै दृष्यलाई ध्वनीले कसरी फरक पार्न सक्छ, बुझाउन खोजेको कथामा कसरी ध्वनीले अर्कै अर्थ लाग्छ भन्ने जस्ता कुराहरु सामान्यरुपमा बुझाउन सक्यौं। अर्का प्रशिक्षक केदार श्रेष्ठले अभिनय र निर्देशनका आधारभूत आधारहरुबारे सहजीकरण गरेका थिए। दुई दिने कार्यशालामा सहभागी ३५ विद्यार्थीले छुट्टाछुट्टै समूहमा रहेर दुई मिनेटसम्मको विना संवादको ५ छोटा फिल्म बनाएका थिए। फिल्ममा उनीहरुले बालश्रम, अभावका बीच शिक्षाका चाहना र लक्ष्यलगायतका विषय उठान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्