राष्ट्रलाई समद्ध बनाउनुमा निजी क्षेत्रको दायित्व हुन्छ:पूर्वमन्त्री डा. महत



मिला दरै, तनहुँ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा.रामशरण महतले नेपाललाई समृद्ध राष्ट्र बनाउन नीजि क्षेत्रको लगानी अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल वितरक महासंघको केन्द्रीय समितिको शनिबारतनहुँको दमौलीमा आयोजित नवाँै वार्षिक साधारणसभाको उद्घाटन गर्दै डा महतले सरकार एक्लैले समृद्ध बनाउन मुस्किल पर्ने भएकाले नीजि क्षेत्रले लगानी गर्नुपर्ने बताउनुभयो ।

उहाँले समृद्ध नेपाल बनाउन नीजि, गैरसरकारी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानी बृद्धि गराउनुपर्ने बताउनुभयो । आयातले भन्दा पनि निर्यात बढाउनतर्फ वितरक महासंघले भूमिका खेल्नुपर्ने भन्नुहुँदै उहाँले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।देशको राजश्व बृद्धि गर्नका लागि उदार अर्थ नीतिको आवश्यक रहेको भन्दै उहाँले भन्नुभयो, ‘आर्थिक गतिविधि बढाउने सरकारको मात्रै जिम्मेवारी होइन, सरकारले गर्नुपर्ने उपयुक्त काम सरकारले नै गर्नुपर्छ र निजी क्षेत्रको पनि दायित्व हुन्छ, त्यो पुरा गर्नुपर्छ ।’स्वदेशी पूँजी संरक्षण गर्नुपर्ने भन्दै उहाँले पर्यवरण, सामाजिक, धार्मिक, सांस्कृतिक क्षेत्रको संरक्षण र प्रवद्र्धनमार्फत पनि समृद्धितर्फ उन्मुख हुने बताउनुभयो । व्यवसायीलाई सहज बनाउने वातावरणको सिर्जना गर्नुपर्ने उहाँको भनाई थियो । डा. महतले राष्ट्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सबैको सहमति र सहकार्यको आवश्यकता रहेको समेत उहाँले बताउनुभयो । उद्योगी, व्यवसायीलाई शोषण गर्न नहुने उहाँको भनाई छ । डा.महतले व्यवसायीले पनि सही तवरबाट कर तिर्नुपर्ने बताउनुभयो ।

उदार आर्थिक नीतिले मात्रै मुलुक समृद्ध बन्न सक्ने उहाँले बताउनुभयो । उदार अर्थ नीतिले देश विकास मात्र नभई आर्थिक गतिविधि बढाउनुका साथै रोजगारीको अवसर सिर्जना गरी आयआर्जनका बाटो सिर्जना गर्न टेवा पु¥याउने बताउनुभयो ।नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष सुरेश अधिकारीले वितरक महासंघलाई सरकारले अन्य व्यवसायी सरह हेर्न नहुने बताउनुभयो । साधारणसभामा ४४ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक गरी करीब ५०० जना सहभागी छन् । व्यवसायीहरुले अनुगमनका क्रममा हतोत्साही गराउन नहुने बताएका थिए ।

सो अवसरमा प्रदेश १ का संयोजक टंक खनाल, गण्डकी प्रदेश संयोजक अनिल श्रेष्ठ, अधिकृत व्यवसायी संघ चितवनका आठौं साधारण सभा कार्यक्रम संयोजक दुर्गा प्रसाद गौतमलाई सम्मान गरिएको महासंघका महासचिव हरिराज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार देशैभर करिब ६ हजार नेपाल वितरक महासंघको सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्