ज्येष्ठ वडा सदस्यको पहलमा स्थापना भयो ज्येष्ठ नागरिक समिति



नेपाल समाचारपत्र, ललितपुर ।

पञ्चवज्र वज्राचार्य ललितपुर महानगरपालिकाकै ज्येष्ठ वडा सदस्य हुनुहुन्छ । घरघरमा पुगेर वृद्धवृद्धाहरूलाई सामाजिक सुरक्षा भत्ता दिने ६७ वर्षीय वज्राचार्य ज्येष्ठ नागरिकको हितमा अझै थुप्रै काम गर्न बाँकी रहेको बताउनुहुन्छ ।

ललितपुर महानगरपालिका–१६ वडाको वडा सदस्यमा निर्वाचित हुनुभन्दा करिब दुई वर्षअघिदेखि नै घरघरमा गई वृद्धभत्ता बाँड्न शुरु गरेका वज्राचार्यले वडा सदस्य भएको चार वर्ष बितिसक्दा पनि सो कामलाई निरन्तरता दिँदै आउनुभएको छ । तर यतिमै चित्त बुझाउन उहाँ तयार हुनुभएन । परिणामस्वरुप स्थापना भयो, ललितपुर महानगरपालिका–१६ वडास्तरीय ज्येष्ठ नागरिक समिति ।हुन त यो समिति गत पुस १२ गते गठन गरिएको थियो तर शुक्रबार मात्रै एक समारोहका बीच यसको घोषणा गरियो । समितिको सहसंयोजकमा राज वज्राचार्य, सचिवमा आशारत्न शाक्य, सहसचिव प्रेमलाल श्रेष्ठ, कोषाध्यक्ष ऋषिप्रसाद श्रेष्ठ रहनुभएको छ । त्यसैगरी सदस्यमा अशोक श्रेष्ठ, पञ्चमुनि वज्रचार्य, इन्द्रकुमारी शाक्य र रत्न महर्जन हुनुहुन्छ । ललितपुर महानगरपालिकाको २९ वटा वडामा ज्येष्ठ नागरिक समिति बनेको यो नै पहिलोपटक हो । वज्राचार्यलाई सघाउन विभिन्न क्षेत्रमा योगदान पु¥याएका १५ जना ज्येष्ठ नागरिकहरूले पनि आफूहरू समितिमा बसेर काम गर्न तयार भएको घोषणा गरेका छन् ।

वृद्धभत्ता दिन घरघरमा जाने क्रममा प्रत्येक घरका ज्येष्ठ नागरिकहरूको सुख र दुःखसँग बुझ्ने मौका पाएका वज्राचार्यलाई ज्येष्ठ नागरिकहरुको हितमा अरु थप कामहरू गर्दै जाने भावना पलाएको हो । त्यसका लागि आफू एक्लै मात्र लागेर नसकिने र यसका लागि सहयोगी टोलीको जरुरत महसुस भएकै कारणले ज्येष्ठ नागरिक समिति बनाउने सोच आएको उहाँ बताउनुहुन्छ ।
ज्येष्ठ नागरिक भेला समितिका संयोजकसमेत रहनुभएका वज्राचार्यले नागबहालमा आयोजित समारोहमा भन्नुभयो– ‘वर्षौंदेखि मनभित्र गढिरहेको सोचले साकार रुप लिँदा मेरो हर्षको सीमा नै रहेन ।’ घरघरमा पुगेर वृद्ध, एकल महिला र अपाङ्गता भत्ता वितरण गर्दै आएको समाचार विभिन्न पत्रपत्रिकामा प्रकाशित भएको र उक्त कार्यका लागि धेरैबाट स्याबासी पाएको कुरा उहाँले खुसी हुँदै बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरूको आफूप्रतिको अपेक्षा झन्झन् बढ्दै गएको आफूले महसुस गरेको जिकिर पनि गर्नुभयो ।

कोरोना संक्रमण बढिरहेको बेला ज्येष्ठ नागरिकहरुलाई थप सेवा दिनुपर्ने बोध भएको सुनाउँदै वज्राचार्यले दुःखित हुँदै भन्नुभयो– ‘यसबीचमा म आफै कोरोना संक्रमित भएँ । यसले समिति बनाउन ढिलाइ भयो । अहिले कोरोना जोखिम कम भएको बेला समिति गठन गर्न सक्रिय भएर लागें । यसमा वडाध्यक्षले पनि निकै साथ दिनुभयो ।’समारोहमा वज्राचार्यको काँधमा हात राखेर ८५ वर्षीय ललितपुरका पूर्वमेयर बुद्धिराज वज्राचार्यले खुलेरै भन्नुभयो– ‘जेष्ठ नागरिकको सेवामा पञ्चवज्रको दाँजोमा अरू कोही छैन । उनी जेष्ठ नागरिकको काँध बनेका छन् ।’सोही अवसरमा १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्यले कामप्रति वज्राचार्यको लगनशीलता, काम नहोला कि भन्ने अति चिन्ता देखेर आफूलाई कहिलेकाहीं आश्चर्य लाग्ने गरेको अनुभव सुनाउँदै समितिमार्फत अझ थप कामहरू हुने विश्वास व्यक्त गर्नुभयो ।

सार्वजनिक बिदाको दिन पनि कार्यालयमा आएर काम गर्ने वज्राचार्यको स्वभावको प्रशंसा गर्दै उहाँले यसअघि वज्राचार्यकै संयोजनमा २ सय ३८ जना ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न भएको स्मरण गर्नुभयो ।महानगरपालिका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिकको हितमा दिवा सेवा केन्द्र, स्वास्थ्य सेवा, योग, ध्यान, प्रवचन, भजनकीर्तन सञ्चालनका लागि आवश्यक बजेट विनियोजित गरिदिन वज्राचार्यले गरेको मागमा आफ्नो ध्यान गएको बताउनुभयो । उहाँले यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्