उदार आर्थिक नीतिले मुलुक समृद्ध बन्छ : पूर्वमन्त्री डा महत



दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले उदार आर्थिक नीतिले मात्रै मुलुक समृद्ध बन्न सक्ने बताउनुभएको छ । नेपाल वितरक महासङ्घ केन्द्रीय समितिको आज तनहुँको दमौलीमा आयोजित नवाैँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै डा महतले उक्त कुरा बताउनुभएको हो ।

उदार अर्थ नीतिले केबल देश विकास मात्र नभई आर्थिक गतिविधि बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पु-याउने डा महतले बताउनुभयो । “देशको राजश्व बढाउनका लागि उदार अर्थ नीतिको आवश्यक छ, किनभने आर्थिक गतिविधि बढाउने सरकारको मात्रै जिम्मेवारी होइन”, उहाँले भन्नुभयो, “सरकारले गर्नुपर्ने उपयुक्त काम सरकारले नै गर्नुपर्छ । बाँकी काम निजी क्षेत्रको पनि हो ।”

पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, गरीबी निवारण, सामाजिक सुरक्षाका काम सरकारले गर्नुपर्ने र उद्योगधन्दा बढाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा उहाँको जोड थियो । “सरकारले गैरसरकारी र सहकारी क्षेत्रलाई प्रोत्साहन गरेर मुलुक समृद्ध बनाउने वातावरण सिर्जना गर्नुपर्छ”, उहाँले भन्नुभयो, “स्वदेशी र विदेशी पूँजीको लगानी वृद्धि गर्नुपर्छ ।”

स्वदेशी पूँजी संरक्षण गर्दै व्यवसायीको हकहितका लागि सरकारले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै डा महतले राष्ट्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सबैबीच सहमति र सहकार्यको आवश्यकता रहेको चर्चा गर्नुभयो । उद्योगी, व्यवसायीलाई शोषण गर्न नहुने बताउँदै पूर्वमन्त्री डा महतले व्यवसायीले पनि सही ढङ्गबाट कर तिर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल वितरक महासङ्घका केन्द्रीय अध्यक्ष सुरेश अधिकारीले वितरक महासङ्घलाई सरकारले अन्य व्यवसायीसरह हेर्न नहुने बताउनुभयो । साधारणसभामा ४४ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक गरी करीब ५०० जना सहभागी छन् । कार्यक्रममा व्यवसायीले अनुगमनका क्रममा हतोत्साही बनाउने काम भएको बताउँदै अस्थिर राजनीतिका कारण व्यवसायी ढुक्क हुने स्थिति नरहेको गुनासो गर्नुभयो ।

भलिबल खेल्ने क्रममा झडप

तनहुँको भीमाद नगरपालिका–१ डुम्रीवेंसीमा भलिबल खेल्ने क्रममा विवाद हुँदा शुक्रबार दुई प्रहरीसहित तीन जना घाइते भएका छन् । शिवरात्रिको पर्वका अवसरमा आयोजना गरिएको भलिबलमा विवाद हुँदा छुट्याउन जाने क्रममा दुई प्रहरी र अन्य एक सर्वसाधारण घाइते भएका हुन् ।

मोटरसाइकलको चेन स्पकेटको प्रहारबाट डुमीवेंसी प्रहरी चौकीका इञ्चार्ज सुरेन्द्र गुरुङ र प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “भलिबलमा युवाबीच विवाद भएपछि छुट्याउन जाँदा प्रहरीमाथि पनि आक्रमण भयो”, प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले भन्नुभयो, “उहाँहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य छ ।” प्रहरीका अनुसार आक्रमणमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्