परिवर्तन र संघिय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन षडयन्त्र शुरु : प्रचण्ड



यमलाल भुसाल, बुटवल ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन र संघिय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन मुलुकमा षडयन्त्र शुरु भएको बताउनु भएको छ ।

पछिल्लो केही समय यता लामो संर्घष र बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र अनिष्टकारी घटना निम्त्याउन मुलुकमा चलखेल चलेको उहाँले खुलासा गर्नु भयो । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको शुक्रवार बुटवलमा उदघाटन गदै अध्यक्ष प्रचण्डले संविधानलाई रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस पनि सुरु भएको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले संविधानमा नपुगेका अधिकारका विषयलाई थप गर्दै लैजाने कि प्राप्तअहिलेका उपलब्धीलाई हत्या गर्ने भन्ने बहस जारी रहेको बताउनु भयो । ७० वर्षदेखि लडेर ल्याएको संविधानलाई ध्वंस गर्ने षडयन्त्रविरुद्ध फेरि एकपटक क्रान्तिको आँधीबेहरी ल्याउनुपर्ने उहाँले बताउनु भयो ।

अध्यक्ष प्रचण्डले अहिले विश्वभर कलरफुल रिभोलुसन चलिरहेको छ भन्दै क्रान्तिलाई पुरा गर्न नेपालमा पनि शान्तिपूर्ण कलर रिभोलुसन आवश्यक रहेका औल्याउनु भयो । सर्वोच्च अदालतले हालै गरेको नेपाल कम्युनिष्ट पार्टी खारेजीको फैसलाप्रति संकेत गर्दै उहाँले जन्मिसकेको बच्चालाई पुनःगर्भमा पठाउन खोजिएको टिप्पणी गर्नु भयो । उहाँले आश्चर्य मान्दै भन्नु भयो, यस्तो अचम्म पनि हुँदोरहेछ , यस्तो अनौठो परिघटना पनि हुँदोरहेछ , यसबाट पनि पुष्टि हुन्छ, केही अनिष्ठ त हुँदैछैन देशमा, अझै कति अस्वभाविक परिघटना देख्न पर्ने हो ?’

अध्यक्ष प्रचण्डले १२ बुदे सहमती र समझदारी गर्ने दुई मध्ये गिरिजा वाबु हुनु हुन्न जिवित आफु मात्र रहेको र अहिले सबैभन्दा बढी घेरावन्दी आफुमाथि भएको खुलासा गर्नु भयो ।

प्रतिगामी र परिवर्तन विरोधीले, संघीयता, गणतन्त्र, समानुपातिक, समावेशी मन नपराउने देशीविदेशी शक्तिहरु सबै मिलेर यो परिवर्तनका लागि अग्रगामी भूमिका खेल्ने नेताहरुको बद्नाम गर्ने कोशिस भैरहेको प्रचण्डले बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले संविधान र जनताको रक्षा गर्नु सरकारको दाईत्व भएता पनि वर्तमान सरकार संविधानको हत्यामा लागेको टिप्पणी गर्नु भयो ।

उहाँले संविधानको हत्या गर्न खोज्ने र संविधान च्यात्ने शक्तिको पतन अपरिहार्य रहेको बताउदै उहाँले संविधान मर्न नदिने धारणा राख्नु भयो । ३ दिन सम्म संचालन हुने कार्यक्रमको अध्यक्षतामा राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष विनोद पहाडीले गर्नु भएको थियोे । महाधिवेशनमा मुलुक भरिका करिव ४ सय पत्रकारहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्