चार पालिकाद्वारा आँखा उपचार केन्द्र स्थापनाका लागि प्रस्ताव



गणेश घिमिरे, इलाम। 

विराटनगर आँखा अस्पतालले प्रदेश–१ मा उपचार केन्द्रहरू खोल्ने योजना बनाइरहँदा इलामका चारवटा गाउँपालिकाले आँखा उपचार केन्द्र स्थापनाका लागि प्रस्ताव गरेका छन् ।विराटनगर आँखा अस्पतालले पहिलो चरणमा जिल्लाको माङसेबुङ्ग गाउँपालिका र माई नगरपालिकामा आँखा उपचार केन्द्र खोल्ने योजना बनाइरहेकै बेलामा फाकफोकथुम र सन्दकपुर गाउँपालिकाले पनि उपचार केन्द्र स्थापनाका लागि प्रस्ताव गरेको छ । यो अस्पतालअन्तर्गत प्रदेश १ का बिभिन्न जिल्लाका १३ स्थानमा आँखा उपचार केन्द्र सञ्चालनमा छन् ।

उपचार केन्द्र स्थापनाका लागि आवश्यक पर्ने १० लाख बजेटमध्ये अस्पतालले ६ लाख र स्थानीय सरकारले ४ लाख ब्यर्होने र केन्द्र सञ्चालनका लागि आवश्यक वार्षिक १३ लाख अनुमानित रकममध्ये ६० प्रतिशत अस्पतालले र ४० प्रतिशत स्थानीय सरकारले ब्यहोर्नुपर्ने प्रावधान रहेको छ ।२०६८ सालमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले उद्घघाटन गरेको उक्त अस्पतालले हाल इलाम सदरमुकाम, फिक्कल र मंगलबारेमा उपचार केन्द्र सञ्चालन गरेको छ । अस्पतालका प्रबन्धक कुमार पृथुले इलामका सबै पालिकामा उपचार केन्द्र स्थापना गर्ने अस्पतालको लक्ष्य रहेको बताउनुभएको छ । विराटनगर अस्पताल नेपाल नेत्र ज्योति संघअन्तर्गत सञ्चालित छ ।

स्थानीय तहहरूलाई मोतियाबिन्दुरहित बनाउन अस्पतालको सेवा विस्तारलाई प्रभावकारी ढंगले अघि बढाउन लागिरहेको अस्पतालका अध्यक्ष पद्म नारायण चौधरीले बताउनुभयो । अस्पतालले स्थानीय तहलाई अँँखा र कानका रोगीको उपचारमा बजेट छुट्याउन मागसमेत गरेको छ ।अस्पतालले इलाममा गरेको एक अध्ययनका अनुसार प्रति हजार व्यक्तिमा १२ जनामा मोतियाबिन्दुको समस्याबाट पीडित छन् । अस्पतालका प्रमुख सुधिरकुमार ठाकुरले सहज र सर्वसुलभ ढंगबाट उपचार हुने भएकोले अस्पतालमा नेपालका मात्रै नभई भारतका विभिन्न स्थानबाट पनि आँखाको उपचार गराउन आउने बिरामीको घुँइचो लाग्ने गरेको बताउनुभयो ।

आँखा अस्पताल विराटनगरलाई विगत ४० वर्षदेखि अन्धोपन निवारणमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको अन्तराष्ट्रिय जर्मन बेस (सिबिएम) नामक संस्थाले आर्थिक सहयोग गर्दै आएको छ ।इलाम नगरपालिकाका मेयर महेश बस्नेतले इलाम अस्पतालमा पनि आँखा अस्पताल खोल्नका लागि इलाम नगरपालिकाले एक करोड रूपैंयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्