गुमनाम बन्यो गुमुखोला बजार



चिरञ्जीवी मास्के, दोलखा ।

दोलखाको कालिञ्चोक गाउँपालिकामा पर्छ गुमुखोला । १७ वर्ष अघिसम्म जिल्लाकै प्रमुख व्यापारिक केन्द्र रहेको गुमुखोला बजार अहिले झन्डैझन्डै खण्डहर गुमुखोला बनेको छ ।बजारको रौनकबाट झन्डै खण्डहर बनेको गुमुखोलामा एउटा पसल भने अहिले पनि सञ्चालनमा छ । उमेरले ७० नाघेकी रामकुमारी श्रेष्ठ विगत ४० बर्ष अघिदेखि त्यही पसलमा बसेर श्रीमान्सँग व्यापारमा अभ्यस्त हुनुहुन्छ ।

४० वर्षअघि पसल सुरु गर्दाताकाको सम्झनाले रोमाञ्चित बनाउँछ रामकुमारीलाई । ‘त्यति बेलाको के कुरा गर्नु मानिसको भिडले सडक वारपार गर्न समेत मुश्किल हुन्थ्यो, व्यापारको त कुरै छाडौं’, रामकुमारीले भन्नुभयो– ‘अहिले त तपाईंहरु जस्तो पाहुना र फाट्टफुट्ट बटुवा आउँदा अलिअलि ब्यापार हुने हो ।’विगत ३० वर्षदेखि नियमित रामकुमारीको पसलमा चियाको चुस्की लगाउन आउने छिमेकी मकरबहादुर राउत आफूले कल्पनै गर्न नसक्ने गरी गुमुखोला बजार खण्डहर बनेको गुनासो सुनाउनुहुन्छ । १७÷१८ वर्ष अघिसम्म गुमुखोलामा डेढ सयभन्दा बढी पसल र घरहरु थिए, कृषि विकास बैंक, नेपाल बैंक, महिला विकास, पशु सेवा कार्यालय आदिका शाखाहरु थिए तर अहिले एक÷दुई मानिस हिँड्दा पनि चिज हुने भएको छ । हरेक महिनाको १० र २५ गते हाट लाग्दा जिल्लाभरिकै मान्छे आएझैं भीड लाग्ने गरेको स्मरण छ मकर बहादुरलाई ।

एउटा पसल र दुई÷तीनवटा घर भएको खण्डहर गुमुखोला देखेर अत्यास लाग्ने गरेको स्थानीय रामकाजी श्रेष्ठ बताउनुहुन्छ । ‘विगतमा यही बजार हो मानिसलाई छिचोलेर अघि बढ्नै कठिन हुन्थ्यो भीडले गर्दा, अहिले उराठलाग्दो खण्डहर बनेको छ’ –रामकाजीले भन्नुभयो ।२०६० साल अघिसम्म गुमुखोला उत्तरी भेगको लप्ची, लामाबगर, गौरीशङ्कर, सिंगटीलगायत तत्कालीन २२ गाविसको पैदल मार्ग र प्रमुख व्यापारिक केन्द्र थियो । २०६० सालमा माथिल्लो भेगबाट सडक बनेपछि गुमुखोला बजार क्रमशः घट्दै गएको र भूकम्पपछि झन्डै झन्डै खण्डहर नै बनेको रामकाजी श्रेष्ठ बताउनुहुन्छ ।माथिल्लो भेगको सडकले गुमुखोला बजारलाई क्रमशः विस्थापित गरेकोमा भूकम्पपछि सबैले आफ्नो थातथलो छोडेर सिंगटी, चरिकोट र काठमाडौ तिर लागेपछि खण्डहर जस्तै बनेको स्थानीयको बताउँछन् ।

अहिले गुमुखोला छेउबाट जुगु जाने सडकका लागि तामाकोसीमा पुल बनेकाले फेरि चहलपहल बढ्ने हो कि भन्ने आश पलाएको रामकुमारी बताउनुहुन्छ । ‘यो ठाउँ खण्डहर हुँदा त छोडेनांै, अब त पुल बनेकाले चहलपहल फर्कन्छ कि भन्ने आश पलाएको छ त्यसैले अन्यत्र कतै जाने बारेमा सोचेकै छैनौं’ –गुमुखोलाका पहरेदार रामकुमारी जोडी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्