भ्यालेन्टाइन सम्झिने शिवरात्रि बिर्सिने यस्तासँग कसरी होला नेपाली माया पलाउने ?



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रेम दिवस, भ्यालेन्टाइन डे, अंग्रेजी नयाँ वर्ष आदि व्यापारिक केन्द्रलगायत सबैतिर धुमधामका साथ मनाउने तर शिवरात्रि, बुद्धजयन्ती, कृष्णजन्माष्टमी, रामनवमी आदि पर्वप्रति बेखबर रहने अभ्यास बढेकोमा चिन्ता व्यक्त गर्दै बिहीबार काठमाडौंमा आध्यात्मिक उत्सव अभियानको घोषणा गरिएको छ ।
‘हामी पश्चिमेली चाडपर्व खुसीसाथ मनाऔं, त्यसमा आपत्ति होइन, आपत्ति त केवल हाम्रा पूर्वीय मान्यता, चिन्तन र विचारहरु ओझेलमा परे भन्ने मात्र हो’, सांसद विमल केडियाले भन्नुभयो– ‘खास गरी युवा पुस्तालाई नेपाली धर्म–संस्कृति र अभ्यासप्रति आकर्षित गर्नु हाम्रा लागि चुनौतीको विषय बनेको छ, यसप्रति हामी गम्भीर हुनैपर्छ ।’

केडिया ग्रुपका कार्यकारी निर्देशकसमेत रहेका केडियाले बुद्धले देखाएको शान्ति, शिवले आत्मसात् गरेको त्याग, कृष्णको जीवनदर्शनजस्ता आध्यात्मिक चिन्तनलाई संगठितरुपमा अघिबढाउनुपर्ने धारणा राख्नुभयो । उहाँ आफ्नै अध्यक्षतामा नयाँ सडकस्थित विशालबजार परिसरमा आयोजित घोषणा सभामा सम्बोधन गर्दै हुनुहुन्थ्यो ।सोही कार्यक्रममा रिम्पोचे गुरु खेम्पोसोनामले विदेशमा हिन्दू, बौद्ध दर्शनका लागि गहन पाठ्यक्रम बनाएर उच्च शिक्षा दिलाउने काम भइरहेको छ, तर नेपालमा चाहिँ यस्तो पाठ्यक्रम बनेको छ, यस्तो पढाइ हुन्छ भनेर भन्न सक्ने अवस्था अझै नहुँदा दुःख लागेको जानकारी गराउनुभयो । ‘हिन्दू र बौद्ध धर्मबीच कायम रहेको भाइचार सम्बन्ध, सहिष्णुता र सद्भावबाट विश्वले पाठ सिकिरहेको छ, तर हामी भने आफ्नो पहिचान बिर्सेर विदेशमुखी भएका छौं।’ –खेम्पोसोनामले यस प्रवृत्तिमा सुधार ल्याउन अभियानका साथ संयुक्तरुपमा अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा डा. भोला रिजालले बाहिरी मुलुकमा आफ्नो धर्म–संस्कृति र पहिचानप्रति युवाहरु पनि सचेत भएर काम गरिरहेका देखिन्छन्, तर नेपालमा खास गरी नयाँ पुस्ता विदेशमुखी भएको बताउनुभयो । ‘अब हामीले युवालाई धर्म–संस्कृतिप्रति प्रशिक्षित गरेर ब्रान्ड एम्बेसेडर बनाई बाहिरी मुलुकमा समेत नेपालीपनको पहिचानका लागि सक्रिय गराउनुपर्छ।’ –डा. रिजालको विचार थियो ।चलचित्र अभिनेता निखिल उप्रेतीले युवापुस्तालाई पैसा कमाउनु नै जीवनको सफलता हो भन्ने पाठ सिकाउन छोडेर, खुसी हुन सक्नु नै सफलता हो भनेर सिकाउनुपर्छ भन्नुभयो । ‘जीवनमा आध्यात्मिक चिन्तनले जति दीर्घकालीन सुख दिन्छ, अरु कुनै वस्तुले दिन सक्तैन।’ –उप्रेतीले प्रस्ट पार्नुभयो ।

नेपाल राष्ट्रिय मारवारी परिषद्का अध्यक्ष पवन मित्तल, मारवारी सेवा समितिका अध्यक्ष कैलाश गोयल, विशाल बजार व्यापार संघका अध्यक्ष नरेन्द्रकुमार गुप्तालगायतले सम्बोधन गरेको कार्यक्रममा सांसद केडियाले शुरु गरेको अभियानमा मन, वचन र कर्मले समर्पित भएर लाग्ने प्रतिबद्धता उपस्थित सबैले जनाएका छन् ।अध्यक्ष गुप्ताले प्रतिबद्धता जनाउँदै भन्नुभयो– ‘विशाल बजार परिवार केडियाज्यूको अभियानमा सक्रिय समर्थन गर्नेछ, नेपाली मौलिक चाडबाड मनाएर होस् वा प्रशिक्षण चलाएर युवालाई धर्म–संस्कृतिको प्रवद्र्धनमा लगाउन अभियानका साथ अघि बढ्नेछ ।’

प्रतिक्रिया दिनुहोस्