सर्वोत्कृष्ट खेलाडीलाई बुलेट बाइक, आयोजकको विजयी शुरुवात



न्युज अफ नेपाल, हेटौंडा ।

स्थानीय तह शहीद स्मृति गोल्डकप प्रतियोगिताको तेस्रो संस्करणको पहिलो खेलमा आयोजक मकवानपुरले नवजनजागृित युवा क्लब सिमरालाई ४–१ गोलअन्तरले घर पठाएको छ । आयोजक सेमिफाइनल प्रवेश गरेको छ । हेटौंडा–१० स्थित बनविज्ञान खेलमैदानमा बिहीबार उद्घाटन खेलमा आयोजक विजय भएको हो ।

आयोजकका तर्फबाट बिमल रानाले २७ औं मिनेटमा गोलको खाता खोलेका थिए । सिमराका गोलरक्षक प्रकाश लामा अघि बढेको मौकाको फाइदा उठाउँदै उनले गोल गरेका हुन् । नवजनजागृतिका तर्फबाट त्यसको करिब चार मिनेटमा मोहित गुरुङले मनमोहक जवाफी गोल फर्काएका थिए । उनले मध्यभागबाट प्रहार गरेको बल सोझै गोल भएको थियो ।

सिमराले पटकपटक लय गुमाउँदा थप तीन गोल खान पुग्यो । खेल बराबरी हुँदै गर्दा दुवै टिम हौसिएका थिए । तर, ५७ औं मिनेटमा हेटौंडेली स्टार रञ्जन बिष्टले नवजनजागृतिको हौसलालाई टिक्न दिएनन् । ६६ औं मिनेटमा बिमलले नै व्यक्तिगत् दोस्रो गोल गरेपछि नवजनजागृति निराश बनेको थियो । विश्व अधिकारीको पासलाई सही सदुपयोग गर्दै उनले जाली चुमाएका थिए ।

अमिर श्रेष्ठले ७७ औं मिनेटमा गोल थपेपछि आयोजक टिमले विजयी शुरुवात गरेको हो । खेलको म्यान अफ दी म्याच आयोजक टिमका राना घोषित भए । शुक्रबार नेपाल आर्मी र जावलाखेलबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ । दश टोलीको सहभागिता रहेको प्रतियोगिता विजेताले उपाधिसहित १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाइक पुरस्कार पाउनेछन् । हेटौंडा स्कुल अफ म्यानेजमेन्टले उक्त पुरस्कार सौजन्य गर्ने भएको हो । व्यक्तिगत् विधातर्फ उत्कृष्ट हुनेहरुले जनही २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार पुरस्कार व्यबस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघ अध्यक्ष टीका लामाले बताए ।

प्रतियोगितामा लिग च्याम्पियन मच्छिन्द्रसहित ६ वटा ‘ए’ डिभिजन क्लबले सहभागिता जनाएका छन् । एक विदेशी, आयोजक र दुई मोफसलका टोली सहभागी रहेको प्रतियोगिता संयोजक बिष्टले बताए । विभागीय टोलीहरु नेपाल आर्मी, एपीएफ, नेपाल पुलिस क्लब, ‘ए’ डिभिजन क्लबहरु जावलाखेल युथ क्लब र संकटा क्लब हेटौंडामा खेल्नेछन् । आयोजक हेटौंडा रिगल रिसोर्ट, बागमती युवा क्लब सर्लाही, नवजनजागृति युवा क्लब सिमरा र विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसनले गोल्डकपमा भाग लिएका छन् ।

कोरोना कहरपछि नेपालका ‘ए’ डिभिजन टोलीहरुले औपचारिकरुपमा प्रतियोगिताहरु खेलेका छैनन् । टोलीमा रहेका सदस्यहरु खेलमा फर्के पनि ‘ए’ डिभिजनस्तरका गोल्डकपहरु कोरोनापछि भएका छैनन् । लामो समय खेलमा नफर्केका टोलीहरु हेटौंडाको मैदानमा देखिने भएका छन् ।

यस संस्करण ४ हजार दर्शक क्षमताको फलामे प्यारापिट राखिएको छ भने मैदानमा बसेर हेर्न मिल्ने व्यबस्था मिलाइएको छ । ‘स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप’ नाम दिइएको राष्ट्रिय फुटबल प्रतियोगिताको यो तेस्रो संस्करण हो । दश वर्षअघि हेटौंडामा प्रारम्भ भएको शहीद स्मृति गोल्डकप प्रतियोगिता यही हो । २०६२/०६३ को जनआन्दोलनका शहीदको स्मृतिमा हेटौंडामा पहिलोपटक गोल्डकप गरिएको थियो ।

विभिन्न प्रायोजकको नाममा सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि यस वर्षबाट जिल्लाका १० स्थानीय निकायले सहयोग गरेका छन् । सबभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाले १५ लाख रुपियाँ सहयोग गरेको छ । प्रतियोगिताको उद्घाटन धुर्मुस–सुन्तली फाउन्डेसन अध्यक्ष कलाकार सीताराम कट्टेल (धुर्मुस) ले गरेका थिए ।

उनले सबैको सहयोगबाट चितवनमा २२ वटा विधाका खेल खेल्न सक्ने रंगशाला निर्माण भइरहेको बताए । रंगशाला निर्माणमा सरकारीस्तरबाट पहिलोपटक हेटौंडा उपमहानगरपालिकाले ३० लाख सहयोग गरेकोमा उनले प्रशंसा गरे । प्रतियोगिता कोरोना भाइरस संक्रमण कारण स्थगित भएको थियो । जिल्ला फुटबल संघको आयोजनामा २०६४ सालमा राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको थियो । पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो भने २०७५ मा दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुरले जितेको थियो । प्रतियोगिता फाइनल चैत ७ गते शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्