एमालेसँग सहकार्य हुन सक्दैन : नेता कोइराला



न्युज अफ नेपाल, भद्रपुर ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेस एमालेसँग सहकार्य गरेर सरकारमा जाने योजनामा नरहेको बताउँनुभएको छ । प्रेस युनियनले बुधबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संविधान विपरीत ‘कु’ गरेको हुनाले उनीसँग सत्ता साझेदारी गर्न नसकिने बताउँनुभयो ।

प्रधानमन्त्री ओली संविधान समाप्त पार्ने खेलमा लागेका कारण उनले नेतृत्व गरेको दल नेकपा एमालेसँग सहकार्य गरेर कांग्रेस सरकारमा जान नसक्ने नेता कोइरालाले भनाइ थियो । ‘संसद पुनस्थापनापछि संविधान त बाँच्यो तर संसद चल्न सक्ने अवस्था छैन’, पत्रकार सम्मेलनमा नेता कोइरालाले भन्नुभयोे, ‘अब देशलाई निकास दिन निर्वाचनमा जानुको विकल्प छैन ।’

नेता कोइरालाले कांग्रेसका अबका गतिविधि र कार्यक्रम चुनाव लक्षित हुनुपर्ने बताउँदै त्यही अनुसारको तयारी गर्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो । संविधान बनाउने पनि झापाली र संविधान समाप्त पार्ने खेल पनि झापालीले गरेको भन्दै नेता कोइरालाले केपी ओली नेतृत्वको सरकारले देशलाई बर्बादीको दिशामा लगेको बताउँदै सत्तामा ओलीको निरन्तरता झन् दुर्भाग्यपूर्ण हुने धारणा राख्नुभयो ।

आसन्न महाधिवेसनमा सभापतिका आकांक्षी कोइरालाले आफू सभापतिको दाबेदार रहेको बताउँनुभयो । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि आफूसँगै रहेको बताउँदै कोइरालाले सिटौलासँग छुट्टै सहमति गर्ने बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्