एपीएफलाई पीएम कप उपाधि



नेपाल समाचारपत्र, बाँके  ।

सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।पीएम कपमा एपीएफको यो तेस्रो उपाधि जित हो । यसअघि, उसले दोस्रो र पाँचौ संस्करण जितेको थियो । एपीएफले डिफेन्डिङ च्याम्पियन पुलिस क्लवलाई सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो । लिग चरणमा तीन-तीन खेलमा जीत निकालेपछि एपीएफ र पुलिस उपाधिका लागि भिडेका थिए । एपीएफले बाजी मा¥यो । एपीएफले पुलिसलाई २५–२२, २५–२१ र २५–१९ ले पराजित ग¥यो ।

डिफेन्डिङ च्याम्पियन र हालसालै पोखरामा भएको टाइगर कपको विजेता पुलिस नेपालगञ्जमा रंगशालामा मंगलबार निरीह देखियो । पुलिसले शुरुवाती चरणमा अंक बराबर गर्दै गए पनि अन्तिमतिर राम्रो खेल्न सकेन । प्रतियोगिताको चार खेल नै जितेको एपीएफले उपाधिसँगै पाँच लाख रुपैयाँँ पुरस्कार पाएको छ । लिग चरणमा एपीएफले त्रिभुवन आर्मी र न्यू डायमण्डलाई समान ३–१ र लुम्बिनी युनाइटेडलाई सोझो सेटमा पराजित गरेको थियो ।पुलिसले लिग चरणमा न्यू डायमण्डलाई ३–२, त्रिभुवन आर्मीलाई ३–१ र लुम्बिनी युनाइटेडलाई सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगितामा दोस्रो भएको पुलिसले दुई लाख रुपैयाँ पाएको छ ।

मंगलबार नै सोझो सेटमा लुम्बिनी युनाइटेडलाई पराजित गर्दै न्यू डायमण्डले तेस्रो स्थान हात पारेको छ । न्यू डायमण्डले लुम्बिनीलाई २५–१६, २५–११ र २५–१३ ले पराजित गरेको थियो । तुलनात्मक रूपमा कमजोर रहेको लुम्बिनीविरुद्ध न्यू डायमण्डले दोस्रो रोजाईका खेलाडीलाई उतारेको थियो । न्यू डायमण्डका स्टार खेलाडीहरू प्रतिभा माली, अरुणा शाही, ललिता नाथ, सलिना श्रेष्ठ बेच्नमै बसेका थिए । न्यू डायमण्डले एक लाख रुपैयाँ पुरस्कार पाएको छ ।प्रतियोगितामा त्रिभुवन आर्मी चौथो भएको छ ।

उसले ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी भइन् । उनले २५ हजार रुपैयाँ पुरस्कार पाइन् । त्यस्तै, वेष्ट स्पाइकर पुलिसकी निशा भण्डारी, वेष्ट ब्लकर एपीएफकी हिरा केसी, वेष्ट सेटर पुलिसकी कमला पुन, वेष्ट लिब्रो न्यू डायमण्डकी सलिना श्रेष्ठ, वेष्ट सर्वर न्यू डायमण्डकी प्रतिभा माली र उत्कृष्ट प्रशिक्षक एपीएफका महेश चौधरी हुन सफल भए । विधागत उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँले पुरस्कृत गरिएको थियो । प्रतियोगिताको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा नेपाल एपीएफ, तेस्रो र चौथोमा भारतको रेलवे इण्डिया, पाँचौंमा एपीएफ र छैठौमा पुलिस प्रथम भएका थिए ।

प्रतिक्रिया दिनुहोस्