प्रतिमाको प्रेम प्रार्थना र अक्षत अनुराग



सञ्चारकर्मी तथा गीतकार प्रतिमा श्रेष्ठको अडियो सीडी प्रेम प्रार्थना एवम् गीति संग्रह अक्षत अनुराग पुस्तक लोकार्पण गरिएको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सोमबार राजधानीमा क्युज सिनेमामा एक कार्यक्रमको आयोजना गरी उक्त अडियो सिडी तथा गीति संग्रह लोकार्पण गरिएको हो।

समारोहमा प्रमुख अतिथि लोकप्रिय गायक दीप श्रेष्ठ, विशिष्ट अतिथि गीतकार दिनेश अधिकारी, कृष्णहरि बराल तथा कवि पिप्लव प्रतीकले पुस्तक तथा गीति संग्रह एकैसाथ सार्वजनिक गरेका थिए। सार्वजनिक सीडीमा ५ गीत समावेश छन्। जसमा प्रतिमाको शब्द तथा संगीतकार अनिल शाहीको संगीत छ। गीति संग्रहमा भने प्रतिमाका ७२ गीत संग्रहित छन्। समारोहमा प्रमुख अतिथि गायक श्रेष्ठले प्रतिमाको व्यक्तित्वको चर्चा गरे भने डा. कृष्णहरि बरालले गीति संग्रहको समालोचना गर्दै भने किताब बाहिरबाट हेरेदेखि नै समालोचना शुरु भएको बताए। ‘यति राम्रो गीत लेख्नुहुन्छ तर पनि आफ्ना रचनाहरुमा आफूलाई अलि परै राखेर अरुलाई मात्र देख्नु भयो। मैले यही उहाँको विशेषता अनुभूत गरेको छु’ उनले भने। गीतकार अधिकारीले प्रतिमाले नेपाली संगीतलाई ठूलो गुन लगाएको बताए। प्रतिमाले आफ्नो एक रचना प्रस्तुत गर्दै लकडाउनको समयलाई सदुपयोग गर्दै करिब १२ वर्षपछि एल्बम निकालेको र लक डाउनकै कारण गीति सग्रह ल्याउने वातावरण मिलेको बताइन्।

सञ्चारकर्मी नरेश भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्वरुप राज आचार्यको स्वर रहेको प्रेम प्रतिष्ठा, बबिता मानन्धरको स्वर रहेको सुन न तथा अस्मीता परियारको स्वर रहेको कुन सुरुवात बोलका गीतहरुको म्युजिक भिडियो प्रस्तुत गरिएको थियो। प्रेम प्रार्थना बोलको गीतको म्युजिक भिडियोमा अभिनेता धिरेन शाक्य र उषा खड्गीको अभिनय रहेको छ भने उक्त म्युजिक भिडियो प्रतिमा स्वयंले निर्देशन गरेकी छिन्। सुन न बोलको गीतमा प्रतिमाकै छोरा मोडल दिवस श्रेष्ठ तथा सब्बु शाहीको अभिनय रहेको छ। उक्त म्युजिक भिडियो पनि प्रतिमा स्वयंले निर्देशन गरेकी हुन्। कुन सुरुवात बोलको गीतको म्युजिक भिडियोमा गायिका अस्मिता परियार तथा संगीतकार अनिल शाहीलाई देख्न सकिन्छ। उक्त म्युजिक भिडियोको निर्देशन शान थापाले गरेका हुन्। सीडीमा समावेश मिल्छ भने बोलको गीतमा गायिका ईतु जोजीजु तथा मेरो हजुर बोलको गीतमा बबिता मानन्धरको स्वर रहेको छ। गीति संग्रह मिडिया ल्यान्डले बजारमा ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्