प्रत्येक अमेरिकीको बैंक खातामा छिट्टै १४ सय डलर जम्मा हुने



USA government check

वासिङ्टन, (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति जोय बाइडेनको कोरोना भाइरस महामारी अन्तर्गतको उन्नाइस खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज चाँडै नै कंग्रेसबाट पारित हुँदैछ । परिणाम स्वरूप अब प्रत्येक अमेरिकीको बैंक खातामा तेश्रो चरणको १ हजार ४ सय डलरको चेक जम्मा हुने भएको छ । शनिबार सिनेटले यो राहत प्याकेजलाई पारित गरेर संशोधित विधेयकलाई यसै साता हाउसमा पठाउँदै छ ।

हाउसबाट सर्वसम्मतले सो विधेयक पारित हुने देखिन्छ । यसै साताको उत्तराद्र्धमा हाउसबाट पारित विधेयकमाथि राष्ट्रपति बायडेनले हस्ताक्षर गरेपछि अर्थ विभाग तथा आन्तरिक राजश्व सेवाले तत्कालै जनतालाई अर्को चरणको भुक्तानी जारी गर्नेछन् । ह्वाइट हाउसका प्रेसमन्त्री जेन साकी पत्रकार सम्मेलनमा भनेकी छन्, ‘सिनेटले पारित विधेयकअनुसार १५ करोड ८५ लाख परिवारले प्रत्यक्ष भुक्तानी पाउनेछन् । यो तथ्यांक गत डिसेम्बरमा जस्तै राहत प्याकेज पाउनेको ९८ प्रतिशत हुन आउँछ ।’‘अमेरिकी उद्धार योजना’ अन्तर्गतको बाइडेनको १९ खर्व डलरको करिब ४ खर्व ५० अर्ब प्रत्यक्ष रूपमा अमेरिकी जनताको खल्तीमा जाने भएको छ । प्रत्येक वैधानिक व्यक्तिलाई १ हजार ४ सय र उनीप्रति आश्रित थप एकजनालाई पनि १ हजार ४ सय डलर प्रदान गर्ने कार्यक्रम रहेको छ । संशोधित पछिल्लो विधेयकका अनुसार वार्षिक ७५ हजार डलर आय हुने व्यक्तिले पूरा भुक्तानी पाउनेछन् ।

तर, ८० हजार कमाउनेले भने अलि कम रकम पाउनेछन् । यहि नियम भत्ताका सयुक्त रूपमा आवेदन गर्नेहरूको वार्षिक आय १ लाख ५० हजार डलर भएको खण्डमा तिनीहरूले २ हजार ८ सय डलर नै पाउनेछन् भने १ लाख ६० हजार कमाउने जोडीले अलि कम रकम पाउनेछन् । यसअघि, यो आय सिमा एकलका लागि १ लाख र जोडीका लागि २ लाख डलर तोकिएको थियो ।तर, तेश्रो चरणको राहत सहयोगका लागि व्यक्तिले तिरेको पछिल्लो कर रकम र उनको मिलान गरिएको आयमाथि निर्भर हुने बताइएको छ । आन्तरिक राजश्व सेवाले कुनै पनि अमेरिकीको सन् २०१९ वा २०२० को कर भुत्तानीको आधारमा सो व्यक्ति प्रत्यक्ष राहत भुक्तानी पाउन योग्य छन् वा छैनन् भन्ने निर्धारण गर्ने भएको छ ।कोरोना भाइरसको कारण विश्वमै सबैभन्दा बढि अमेरिकीको ज्यान गएको छ । त्यहाँ संक्रमणको कारण मर्नेको संख्या पाँच लाख नाघिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्