निर्वाचनका लागि तयार रहन शिक्षामन्त्रीको निर्देशन



नेपाल समाचारपत्र, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छपाइका लागि मेसिन तयारी हालतमा राख्न निर्देशन दिनुभएको छ । जनक शिक्षा सामग्री संस्थान लिमिटेडको निरीक्षण भ्रमणका क्रममा उहाँले केन्द्रका अधिकारीलाई सो निर्देशन दिनुभएको हो ।‘अब निर्वाचन गर्ने समय आएको छ, तपार्इंहरु तयारी रहनुस्’, मन्त्रालयका सचिव एवं केन्द्रका अध्यक्ष रामप्रसाद थपलिया, केन्द्रका प्रबन्ध सञ्चालक अनिल झालगायत पदाधिकारीलाई निर्देशन दिने क्रममा भन्नुभयो– ‘सबै मेसिन दुरुस्त राख्नुस् । सरकारले निर्वाचन आयोगलाई निर्देशन दिन्छ । आयोगले जनकलाई निर्देशन दिएलगत्तै खुरुखुरु छपाइ गर्न थाल्नुपर्छ ।’

निर्वाचन आयोगमा रहेका मेसिनहरु पनि तत्काल ल्याउने व्यवस्था मिलाउनसमेत उहाँले निर्देशन दिनुभएको छ । यसअघि सरकारले वैशाख १७ र २७ गर्ने निर्वाचन तयारी गर्दा आयोगका प्रमुख निर्वाचन आयुक्तसहितको टोली केन्द्रमा पुगेर निर्देशन दिएको थियो ।मन्त्री श्रेष्ठले नजिकिँदै गएको शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तक छपाइ गरी सम्बन्धित क्षेत्रमा पु¥याउनसमेत निर्देशन दिनुभएको छ । ‘मैले सुनेको छु, हरेक वर्ष पाठ्यपुस्तक अभाव भएको विषय मिडियाको समाचार बन्ने गरेका छन्, यो वर्ष यस्तो विषय सुन्न नपरोस् समयमै पाठ्यपुस्तक पु¥याउने विषयमा ध्यान दिनुस् ।’

केन्द्रले गरेको कामप्रति सन्तोष व्यक्त गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो– ‘आगामी शैक्षिकसत्रमा पाठ्यपुस्तक नपुगेको सुन्न पाइनेछैन ।’ उहाँले भन्नुभयो– ‘पहिला दुर्गममा पुस्तक पु¥याएपछि, सुगममा पुस्तक पु¥याउने व्यवस्था गर्नुस् ।’ उहाँले कक्षा ६ को पाठ्यपुस्तको प्रिन्ट रेडी कपी तत्काल ल्याएर छपाइ गर्ने व्यवस्था गर्न निर्देशन दिनुभयो । मन्त्रीले १–१२ कक्षाको पुस्तक छपाइ जिम्मा पाएको केन्द्रले सबै तहको पुस्तक छपाइ गरी बिक्रीवितरण शुरु गर्न समेत निर्देशन दिनुभएको छ ।केन्द्रले आगामी शैक्षिकसत्रमा कक्षा १ देखि ११ सम्म छपाइ गर्नुपर्ने लक्ष्य १ करोड ८४ लाख ४६ हजार ९ सय ८० मध्ये १ करोड ४७ लाख १३ हजार ९ सय ९९ थान छपाइ पूरा गरेको छ ।

मन्त्री श्रेष्ठ र केन्द्रका अध्यक्ष एवं सचिव थपलियाले केन्द्र परिसरमा रहेको सुरक्षण मुद्रणालय अवलोकन गर्दै अब जनकले अर्थ, यातायात, भूमि व्यवस्था तथा सहकारीलगायत सबै सरकारी निकायको गोप्य काम छपाइ गर्नुपर्ने बताउनुभयो । नेपाली सेनाको सुरक्षा घेराभित्र रहेको सेक्युरिटी प्रेसले धमाधम काम गर्दै आएको छ ।उहाँले आन्तरिक राजस्व विभागको स्टिकर, कक्षा १० र १२ को प्रश्नपत्र र उत्तरपुस्तिका, सीटीईभीटीको उत्तरपुस्तिका छपाइको अवस्थाबारे जानकारी लिँदै यस्ता महत्वपूर्ण कामलाई तीव्रता दिन आग्रह गरेको छ ।

कार्यक्रममा शिक्षा सचिव थपलियाले आगामी शैक्षिकसत्रमा पाठ्पुस्तकको अभाव हुन नदिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘अध्यक्षको हैसियतले म यो भन्न चाहन्छु कि आगामी आवमा पाठ्यपुस्तक अभाव हुन दिँदैनौं ।’ कार्यक्रममा संस्थाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जनकले पाठ्यपुस्तक अभाव हुन नदिने वचनबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्