हेटौंडाले सम्झियो देशका प्रथम ग्राजुएट इञ्जिनियर



न्युज अफ नेपाल, हेटौंडा ।

दक्षिण एसियाका पहिलो सुरुङ निर्माणकर्ता नेपालका प्रथम ग्राजुएट सिभिल इञ्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजंग थापाको अर्धकदको सालिक हेटौंडामा अनावरण गरिएको छ । ब्रिगेडियर कर्णेल थापाको सालिकको हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले मंगलबार अनावरण गर्नुभएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ को चुरियामाईमा रहेको सुरुङको संरक्षण र मन्दिरवरपर पानीको व्यबस्थापनलगायत क्षेत्रमा सहयोग गर्दै आएको उपमहानगरपालिकाकै करिब ५ लाख बजेटमा सालिक स्थापना गरिएको हो । बारा र मकवानपुरको सिमानामा अवस्थित चुरियामाईमा उक्त सुरुङ रहेको छ ।

थापाले देशका १२ वटा महत्वपूर्ण भौतिक संरचना डिजाइनका र निर्माण गरेका थिए । हेटौंडा-काठमाडौं रोपवे, १९९० को भुकम्पपछि भत्किएको धरहरा र घण्टाघर पुनर्निर्माण, काठमाडौंमा रहेका राणाका दरबार, नेपालको प्रथम रेलवे (जनकपुर–जयनगर) को पनि उनले नै डिजाइन गरेका थिए ।

हेटौंडा–१०, टीसीएनस्थित टोनीहेगन पार्कका निर्माता र सुरुङ निर्माणकर्ता थापाले इतिहासमा गरेका कामलाई स्थानीय सरकारले संरक्षणको प्रयास गरेको मेयर महतले बताउनुभयो । दक्षिण एसियाकै पहिलो मानवनिर्मित सुरुङ भएकाले यसलाई विश्वसामु चिनाउन उपमहानगरपालिकाले विगतदेखि नै संरक्षण गर्दै आएको उहाँको कथन छ । सुरुङ निर्माण गर्ने थापाको इतिहास जोगाउन सालिक स्थापना गरिएको भन्दै मेयर महतले चुरियामाई सुरुङ संरक्षणका लागि नगरपालिका तयार बताउनुभयो ।

थापाले करिब १ सय २ वर्षअघि नेपालमा गाडी गुडाउने गरी सुरुङमार्ग बनाएका थिए । उक्त सुरुङको भग्नावषेश हालसम्म देख्न सकिन्छ । राणाकालमा रक्सौलबाट अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न सजिलो थिएन ।

पहाडमा घुमाएर बाटो बनाउनुको साटो सीधा सुरुङ खनियो र गाडी चलाइयो । हेटौंडा बजारबाट करिब ९ किलोमिटर दक्षिणमा चुरियामाई मन्दिर छ । त्यहा“को सडक केही उकालो छ । थापाले तत्कालीन समयमा उकालोमा बाटो बनाउन गाह्रो भएकाले विकल्पमा सुरुङ खनेको सहरी विकासविज्ञ बीके महर्जनले बताउनुभएको छ ।

प्रजातन्त्र पुनस्र्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यसक्रममा सुरुङमार्गको बीच खण्डमा विष्फोट गराएर भत्काइयो र त्यसमाथि सडक बनाइयो । सडकछेऊमा देखिएका सुरुङका मुखहरु थुनिए । तर, मन्दिरनजिक सुरुङको मुख्य भाग भने सग्लै छ । सडकपारिको अर्को भागलाई भने कंक्रिटको घर बनाएर बन्द गरिएको छ ।

तराईलाई देशका अन्य क्षेत्रसँग जोड्ने पूर्वपश्चिम राजमार्ग भएर चल्ने हजारौं सवारीसाधनका यात्रुहरुको खुल्दुली मेटाउँदै राजमार्गमा देख्न सकिने कंक्रिटनिर्मित ठूलो ढिक्का तथा मकवानपुर–बाराको सिमानामा पर्ने एतिहासिक चुरियामाईको मूल मन्दिरबारे सप्रमाण जानकारी सार्वजनिक गरिएको छ । जसको प्रभावका कारण स्थानीय सरकारले संरक्षण कार्य अगाडि बढाएको छ ।

पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा लहरैसँग ढुंगाहरु राखिएका छन्, खोपाहरु कुँदिएका छन् । पुरातत्व विभागले सुरुङको ऐतिहासिकता परीक्षण गरिसकेको छ । सुरुङमार्गमा सर्वसाधारणलाई अवलोकन निषेध छ । भुकम्पअघिसम्म हेर्न पाइन्थ्यो । तर, सुरक्षा संवेदनशीलताले बन्द गरिएको छ ।

चुरे पर्वतको काखमा रहेको सुरुङ नेपालीहरुको श्रम, सिप, मेहनत र कला/कौशलको प्रतिविम्ब भएको चुरियामाईका श्यामकुमार बम्जनले बताउनुभयो । गुफामा परिणत भएपछि सुरुङ चर्चामा आउन सकेको छैन । थापा, तत्कालीन पूर्वी नेपाल तथा इलामका बडाहाकिम कर्णेल गजराजसिंह थापा तथा श्री ३ जंगबहादुर राणाका ज्येष्ठ सुपुत्री बदनकुमारी थापाका नाति तथा बृक हर्षजंग थापा तथा दीपराजेश्वरी थापाका काहिंला सुपुत्रको रुपमा १९५० मा जन्मिएका र ५२ वर्ष उमेरमा २००२ चैतमा निधन भएको बताइएको छ ।

नेपालको गौरवका रुपमा हेटौंडामा रहेको र विश्वमा चर्चित एक इतिहासकारले ‘विश्वको आठौं आश्चर्य’ को उपमा दिएको सुरुङ पुनर्निर्माणका लागि बागमती प्रदेश सरकारले पनि रुचि देखाएको छ । एतिहासिक सुरुङलाई कानुनअनुसार ‘स्मारक’ घोषणा गरेर संरक्षण गर्न आवाज उठिरहेको बेला यसका लागि बोलपत्र आह्वान गरिएको हो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब पाँच करोडको अधिकतम् सीमाभित्र सुरुङमार्ग पुनर्निर्माणसम्पन्न गर्नसक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको छ । नेपाललाई राम्ररी चिनेका र सबै जिल्लामा हिँडेर पुगेका स्वीस नागरिक हेगनले सन् २००४ मा लेखेको ‘दी हिमालयन किङ्डम अफ नेपाल’ नामक पुस्तकमा सुरुङमार्गबारे स्पष्ट पार्दै नेपालभन्दा ठूलो भारतले सुरुङ प्रविधि भिœयाउन नसकेको बेला नेपाल सफल भएकोमा खुशी व्यक्त गरिएको छ । उनले पुस्तकमा उक्त सुरुङलाई विश्वको ‘आठौं आश्चर्य’ का रुपमा उल्लेख गरेका छन् ।

पहिरोले एकापट्टिको भाग पुरिएपछि मार्गको करिब २ सय ८० मिटरमात्र बाँकी रहेर अस्तित्व नै नरहने अबस्थामा पुगेपछि प्रदेश सरकार तातिएको हो । प्रदेश–२ को बारा र बागमती प्रदेशको मकवानपुर जोड्ने सुरुङमार्ग राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको हो । उक्त मार्गबाट २०२० सालसम्म सवारी आउजाउ हुने गरेको अग्रजहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्