क्यान्सर सहयोग समूहद्वारा क्यान्सर जितेका साहसी महिलाको सम्मान



न्युज अफ नेपाल, काठमाडौं ।

एक त क्यान्सर लागेपछिको चिन्ता, त्यसमा पनि कोरोना महामारीको थप त्रास । यस्तो अवस्थामा क्यान्सर निको भएका र उपचाररत महिलाहरुलाई तनाव र निराशामुक्त राख्न नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धि र नेपाल क्यान्सर सहयोग समूहले कोरोना महामारीको मध्य समय ताका एउटा जुक्ति निकाल्यो ।

सो समूहले क्यान्सरको उपचार गराईराखेका र उपचार सकेर निको भईसकेका महिलालाई कोरोनाको तनाव र निराशाबाट मुक्त राख्दै उनीहरुको दैनिकी व्यस्त राख्न सामाजिक सञ्जालमा टिकटक र कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजना गरेर । आफूभित्र रहेको जुनसुकै प्रतिभा टिकटकमा देखाएर कोरोना महामारीको अवधिभर आफूलाई प्रशन्न, स्वस्थ र व्यस्त राख्ने उद्धेश्यले नेपालमै पहिलोपटक यस्तो कार्यक्रम अघि सारिएको थियो ।

‘हामी क्यान्सरको उपचार गराईराखेका र उपचारपछि निको भएका थुप्रै दिदीवहिनीलाई यस अवधिमा तनावमुक्त र व्यस्त राख्न चिन्तित थियौं, सोही अनूरुप हामीले पहिलोपल्ट यो कार्यक्रम गरेका हौं र सफल पनि भयौं’—क्यान्सर सर्भाइभरहरुकी अभिभावक एवम् नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरकी निर्देशक र नेपाल क्यान्सर सहयोग समूहकी संयोजक समेत रहेकी स्वरुपा श्रेष्ठले भनीन् ।

संयोजक श्रेष्ठले टिकटक तथा कविता लेखन तथा वाचन प्रतियोगिताले कोरोना महामारीले समाजमा ल्याइदिएको निराशापनलाई र निरसतालाई निकै हदसम्म कम गरेको कुरा दावी गरीन् ।

तिनै टिकटक र कविता लेखन तथा वाचन प्रतियोगिताका विजयी क्यान्सर जितेका महिलाहरुलाई १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सोमबार ललितपुरको झम्सिखेलमा एक कार्यक्रमको आयोजना गरि पुरस्कृत एवम् सम्मानित गरियो ।

नेपाल क्यान्सर सहयोग समूहको आयोजना तथा नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धि र उपचारका लागि सहयोगी हातहरुको सहयोगमा आयोजित ‘सुदिप्त क्यान्सर सभाईभर मिट—२१’ कार्यक्रममा सो समूहकी संयोजक स्वरुपा श्रेष्ठले विजयी महिलाहरुलाई पुरस्कार वितरण तथा सम्मान गरीन् । श्रेष्ठले कविता प्रतियोगिताकी निर्णायक मण्डलका सदस्य कवयीत्री शान्ति शर्मा तथा कविता र टिकटक प्रतियोेगिताका निर्णायक मण्डलका अर्का सदस्य कवि दिपक यात्रीलाई पनि सम्मान गरीन् ।

कार्यक्रममा निर्णायक मण्डलका सदस्यहरु कवयीत्री शान्ति शर्मा तथा दीपक यात्रीका साथै प्रतियोगितामा पहिलो भएकी गंगा केसीले कविता वाचन गरेका थिए ।

यसैगरी सेलिबे्रटी क्यान्सर विजेता डली गुरुङ्गले आफुले नेपाल क्यान्सर हस्पिटलको प्रांगणमा एउटा विजयी घण्टी सौजन्य स्वरुप दिएको र हरेक क्यान्सर बिरामीको उपचार पछि उहाँहरुले उक्त बिजयी घण्टी बजाई आफु क्यान्सरमुक्त भएको उद्घोष गर्दै उपचाररत अरु क्यान्सर विरामीको हौसला बढाईदिन पनि अनुरोध गरीन् ।

क्यान्सर विजेता इन्दिरा प्रधानाङ्गले नृत्य गर्नुका साथै योगा प्रशिक्षक सिमन न्यौपानेले हौशला र हाँसोको महत्वको बारेमा बोलेको सो कार्यक्रममा क्यान्सर विजेता बबि शाक्य, तारा अमात्य र सुनिता तुलाधरले आआफ्नो अनुभव सुनाएका थिए ।

कार्यक्रममा क्यान्सर विजेताहरुले सँधै हौसला र प्रेरणा दिदै आएकी क्यान्सर सहयोग समूहकी संयोजक स्वरुपा श्रेष्ठलाई सो समूहकोे अभिभावकको भूमिका निर्वाह गरेकोमा दोसल्ला ओढाई अभिनन्दन र र प्रदान गरेका थिए ।

कविता लेखन तथा वाचन प्रतियोगितामा गंगा केसी पहिलो, श्रीजना लुइँटेल चापागाई दोस्रो, अनिता श्रेष्ठ र लिना नेम्कुल तेस्रो, मीना तुलाधर चौथो र गीता चित्रकार तथा लोकेश्वरी शाक्यले सान्त्वना पुरस्कार जितेका थिए भने चर्चित मोडेल डली गुरुङ र गायीका संगीता शाक्यले सेलीब्रेटी पुरस्कार तथा ७४ वर्षिय क्यान्सर विजेता तारा प्रसाद त्रिपाठीले ज्येष्ठ नागरिक पुरस्कार जितेका थिए ।

यसैगरी टिकटक प्रतियोगितामा अनिता श्रेष्ठ पहिलो, गंगा केसी दोस्रो, मीना तुलाधर तेस्रो र पुण्यश्वरी कोजु महर्जन चौथो भएका थिए ।

प्रतिक्रिया दिनुहोस्