महिला उद्यमशीलतामा जोड



काठमाडौं, (नेस) ।

उपराष्ट्रपति नन्दबहादुर पुनले महिलालाई दुई महत्वपूर्ण पाटो शिक्षा र आर्थिक क्षेत्रमा समानताको अवसर दिलाइनुपर्ने धारणा राख्नुभएको छ । १११औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको नारी सम्मान समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले सो धारणा राख्नुभएको हो।

उहाँले नेपालको आर्थिक समृद्धिका लागि महिला उद्यमशीलता आवश्यक रहेको र महिलाद्वारा सञ्चालित उद्योग व्यवसायमा राज्यले विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने बताउनुभयो । उहाँले कोभिड–१९ महामारीका कारण ठूलो आर्थिक क्षति भई अघिल्लो वर्षको आर्थिक वृद्धि करिब दुई प्रतिशत ऋणात्मक भएको अवस्थालाई मध्यनजर गर्दै यसको सामना गर्न प्रभावकारी रणनीतिक योजना ल्याइनुपर्ने खाँचो औंल्याउनुभयो ।

कार्यक्रममा नेपालका लागि युरोपेली संघका राजदूत नोना डेपरेजले महिलाको गुणात्मक सहभागिता र क्षमता अभिवृद्धिका लागि सबै पक्षको ध्यान जानुपर्ने बताउनुभयो । नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाद्वारा उत्पादित सामग्रीको बजारीकरण र उपभोगका लागि आम समुदायलाई अपिल गर्नुभयो । संस्थाको महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठले महिलाले सञ्चालन गरेका उद्योग, व्यवसायलाई उत्प्रेरित गर्न सहुलियत तथा कर छुटको व्यवस्था गर्न माग गर्नुभयो ।

सो अवसरमा महिला व्यवसाय र उद्यमशीलतामा उल्लेखनीय योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।सम्मानित हुनेहरुमा क्रमशः अदिती गोयललाई ‘आइटी एन्ड इनोभेसन’ अवार्ड, राधालक्ष्मी श्रेष्ठलाई ‘विजनेस मोटिभेसन’ अवार्ड, कन्काई महिला ग्रुपलाई ‘एग्रो इन्टरपेनरसिप’ अवार्ड, कृष्णा राणालाई ‘सोसियल इन्टरर्नसिप’ अवार्ड र रेखा चौधरी शर्मालाई महिला उद्यमी अवार्ड प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्