सिटीको विजय यात्रामा पूर्णविराम



लन्डन, (एजेन्सी) ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीको विजययात्रामा चिरप्रतिद्वन्दी म्यानचेस्टर यूनाइटेडले पूर्णविराम लगाइदिएको छ ।
युनाइटेडले सिटीको २१ खेलसम्मको विजयी यात्रालाई २२औं खेलमा टुंग्याइदिएको हो । प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको सिजनको दोस्रो म्यानचेस्टर डर्बी भिडन्तमा पाहुना टोली युनाइटेडले सिटीलाई उसैको घरेलु मैदानमा २–० गोलअन्तरको हारको स्वाद चखाएको हो । यो हारसँगै सिटीको सबैखाले प्रतियोगिताबाट पछिल्ला २१ खेलसम्मको लगातारको विजयी यात्रामा पूर्णविराम लागेको छ ।

साथै, प्रिमियर लिगमा लगातार १५ खेलसम्मको विजयी यात्रा पनि समाप्त भएको छ । त्यसैगरी, पछिल्ला २७ खेलसम्मको लामो अपराजित यात्रा पनि सिटीले आफ्नै मैदानमा युनाइटेडका हातबाट अन्त्य गर्नुपरेको छ ।युनाइटेडले खेल सुरु भएको ३३ सेकेन्डमै पेनाल्टी पाएको थियो । युनाइटेडले बनाएको पहिलो मुभमै बल लिएर डीबक्सभित्र पुगेका एन्थोनी मार्सियालमाथि सिटीका खेलाडीले फाउल गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टीको मौका दिएको थियो । जसलाई ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई १–० अघि पारेका थिए ।त्यसपछि युनाइटेडका लागि खेलको ५०औं मिनेटमा युवा खेलाडी लुके शले मार्कुस रास्फोर्डमो पासमा गोल गरेपछि युनाइटेडले २–० को सहज अग्रता बनायो । दोस्रो गोल खाएपछि चर्को दबाबमा परेको सिटी त्यसपछि खेलमा फर्किन सकेन । यो जितपछि युनाइटेडले २८ खेलबाट ५४ अंक जोडेको छ भने पराजित सिटीको २८ खेलबाट ६५ अंक छ ।

फुलह्यामद्वारा लिभरपुल पराजित

प्रिमियर लिगको खेलमा रेलिगेसन जोनमा रहेको फुलह्यामसँग लिभरपुल पराजित भएको छ । आइतबार राति लिगको २८औं साताको खेलमा फुलह्यामसँग आफ्नै घरेलु मैदानमा लिभरपुल १–० गोलअन्तरले पराजित भएको हो । उक्त हार डिफेन्डिङ च्याम्पियनका लागि जारी सिजनको नवौं हार समेत हो ।लिभरपुलले लिगका पछिल्ला ७ खेलमा मात्रै एक खेल जित्दा ६ खेल हारेको छ । केही समयअघि लगातार चार खेल हारेर एक खेल जितेको लिभरपुलले त्यसपछि फेरि लगातार दुई खेल हारेको छ । फुलह्यामका लागि खेलको ४५औं मिनेटमा मारियो लेमिनाले गरेको एक मात्रै गोल जितका लागि पर्याप्त बन्यो ।

गत सिजनमा ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेर इतिहास रचेको लिभरपुल यो सिजनमा क्लब इतिहासकै खराब अवस्थामा पुगेको छ । लिभरपुल क्लब इतिहासमै पहिलोपटक एकै सिजनमा ६ घरेलु खेलमा पराजित भएको छ ।यो हारपछि लिभरपुलको २८ खेल सकिँदा मात्रै ४३ अंक छ । गणितीय समीकरण अनुसार लिभरपुलका लागि यो सिजनको उपाधि यात्रा लगभग समाप्त भइसकेको छ । लिभरपुललाई अब लिग तालिकाको शीर्ष ४ मा रहेर अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुन पनि धेरै कसरत गर्नुपर्ने देखिन्छ । जितपछि फुलह्यामले २८ खेलबाट २६ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्