दशरथचन्द र खलंगा फाइनलमा



विनोद सिंह विष्ट, बैतडी । 

बैतडीको दशरथचन्द नगरपालिकामा जारी चौथो संस्करणको ‘मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता’ को उपाधिका लागि वडा नं ५ दशरथचन्द र वडा नं ४ खलंगा भिड्ने भएका छन् ।

सोमबार सम्पन्न सेमिफाइनमा वडा नं ८ त्रिपुरालाई ५२ रनले पराजित गर्दै दशरथचन्द फाइनलमा प्रवेश गरेको हो । यस्तै, वडा नं १० बाराकोटलाई २६ रनले स्तब्ध पार्दै खलंगा उपाधिनजिक पुगेको हो । दशरथचन्द खेलमैदानमा दशरथचन्दबाट १ सय ५३ रन लक्ष्य पाएको त्रिपुराले १ सय ४ रन बनाएको थियो । टिमका लागि सञ्जय धामीले सर्वाधिक २९ रनको योगदान दिए ।

त्यसअघि, पहिला ब्याटिंग गरेको दशरथचन्दले ८ विकेटको क्षतिमा १ सय ५२ रन बनायो । जसमा आकाश रावलले अविजित ५२ रनको पारी खेले । त्रिपुराका सन्तोष चन्द र जगदीश मौनीले ३-३ विकेट लिए ।यस्तै, अर्को खेलमा बाराकोटलाई २६ रनले पाखा लगाउदै खलंगा फाइनलमा पुगेको हो । खलंगाले दिएको १ सय ३५ रनको लक्ष्यमा पुग्न अघि नै बाराकोट १ सय ८ रनमा समेटियो । टिमका प्रकाश बुडालले ४८ रन जोडे । खलंगाका विक्रम चन्द र प्रदीप चन्दले २-२ विकेट हात पारे ।

त्यसअघि खलंगाले ४ विकेटको क्षतीमा १ सय ३४ रन बनाएको थियो । टिमका लागि लोकेश चन्दले नटआउट ५५ रन बनाए । बाराकोटका दिनेश बुडालले २ विकेट लिए । फाइनल खेल आज हुनेछ, जसमा विजेताले ७५ हजार र उपविजेताले ५० हजार हात पार्नेछ ।

प्रतिक्रिया दिनुहोस्