श्रीमान् बोक्ने प्रतियोगितामा विष्णु अधिकारीको जोडी प्रथम



तनहुँ, (नेस) ।

भाषण, सभा गरी मनाउने गरिएको नारी दिवस फरक तबरबाट मनाउन थालिएको छ । अर्थपूर्ण र महिलालाई प्रत्यक्ष रूपमा सशक्त बनाउने उद्देश्यले दिवस मनाउने तौर तरिका फेरिएको छ । सोमबार तनहुँको देवघाट गाउँपालिकाले भिन्न प्रतियोगिता गरेर १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर मनाएको छ ।
गाउँपालिका स्तरीय श्रीमान् बोक्ने दौड प्रतियोगितामा विष्णु अधिकारीको जोडी प्रथम हुनुभएको छ ।

प्रतियोगितामा गंगा गुरुङ र नवीन गुरुङको जोडी द्वितीय, सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय र सान्त्वना उजेली पन्थ पोख्रेल र भरत पोख्रेलको जोडी सान्त्वना भएको देवघाट गाउँपालिकाका उपाध्यक्ष विमला थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा विजेता जोडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा १४ जोडी सहभागी भएका थिए ।

महिलाहरूको साहिकता प्रदर्शन गर्ने उद्देश्यले श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताउनुभयो । सुन्दा नयाँ तथा नौलो प्रकृतिको प्रतियोगितामार्फत् शारीरिक र मानसिक रूपमा महिला र पुरुष समान हुने सन्देश प्रवाह गर्ने गरी यो प्रतियोगिता आयोजना गरिएको थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्