आमा छात्राको चुनौती ‘इच्छा शक्तिले पढाइमा निरन्तरता’



मिला दरै, तनहुँ ।

व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा १११औं अन्तर्राष्ट्रिय नारी दिवसमा सोमबार अर्थपूर्ण कार्यक्रम गरिएको छ । क्याम्पसमा अध्ययनरत आमा विद्यार्थीहरुको चुनौती र अवसरका विषयमा चर्चा गरिएको छ । क्याम्पसद्वारा आयोजित ‘लर्निङ मदर्स च्यालेन्ज एन्ड च्यालेन्जेज’ विषयमा चर्चा परिचर्चा गरिएको हो ।

इच्छाशक्ति भए हरेक चुनौती पार गर्दै पढाइलाई निरन्तरता दिएर शैक्षिक योग्यता वृद्धि गर्न सकिने आमा विद्यार्थीको भनाइ छ । मानव जीवनमा हरेक आरोहअवरोह आउने भए पनि महिलालाई सामाजिक दृष्टिकोणले नै फरक बनाउने गरेको उनीहरु बताउँछन् ।अध्ययनसँगै घरपरिवार र बालबालिका हुर्काउनुपर्ने अवस्थाले चुनौतीसँग लडेर अवसर सिर्जना गर्न सिकाएको क्याम्पसको कक्षा ११ मा अध्ययनरत आमा विद्यार्थी ममता बर्देवा बताउनुहुन्छ ।परिपक्क नहुँदै विवाहपश्चात् परिवार तथा बालबच्चाका कारण पढाइलाई निरन्तरता दिन नसकेको आमा विद्यार्थी बर्देवा भन्नुहुन्छ– ‘आत्मविश्वास र इच्छाशक्तिले महिलालाई हरेक चुनौतीसँग जुध्न सक्ने बनाउँछ, चुनौतीलाई स्वीकार्न सक्नुपर्छ ।’एसएलसी उत्तीर्ण भएपछि पढाइलाई पूर्णविराम लगाई बस्नुभएकी उहाँले अहिले बालबच्चासँगै अध्ययनलाई निरन्तरता दिँदै आउनुभएको छ । ‘बच्चालाई विद्यालय पु¥याएर क्याम्पस आउँछु, २ पिरियड छोडेर बच्चा लिन पुग्छु, अरु अध्ययन घरमै गर्दै आएको छु, आमा विद्यार्थीलाई चुनौतीसँगै अवसर प्रशस्त छन्, उपयोग गर्नुतर्फ अगाडि बढ्नुपर्छ।’ –उहाँ भन्नुहुन्छ ।

त्यस्तै चाहना तथा इच्छाशक्तिलाई कसैले पनि छेक्न नसक्ने अर्की आमा विद्यार्थी चन्द्रावती हड्खले बताउनुहुन्छ । ‘न त उमेरले छेक्यो, न त परिवारिक स्रोतले, महिलाले धेरै चुनौती सामना गर्न छोड्नुहुँदैन, एक दिन अवश्य पनि लक्ष्य पूरा गर्नेछ, दृढता कायम राख्नुपर्छ।’ –हड्खले भन्नुहुन्छ । उहाँले एसएलसी उत्तीर्ण गरेपछि विवाह र विवाहपछि बच्चा जन्मिएको १४ वर्षपश्चात् पढाइलाई निरन्तरता दिएको बताउनुभयो ।चुनौतीलाई महिलाले स्वीकार्न सके हरेक पाइलामा अवसर सिर्जना हुने आमा विद्यार्थी कल्पना न्यौपाने बताउनुहुन्छ । त्यस्तै धेरै क्याम्पसमा अध्ययनरत आमा विद्यार्थीले आफूले चुनौतीको सामना गर्दै अगाडि बढेका चर्चा गरेका थिए ।गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङले आमा विद्यार्थीको चुनौतीलाई सुनाउने मौका दिएर अन्य विद्यार्थीलाई प्रेरित गर्दै नारी दिवसलाई अर्थपूर्ण बनाएको बताउनुभयो । आदिकवि भानुभक्त क्याम्पस छात्राको मात्रै क्याम्पस जस्तो लाग्ने भन्दै उहाँले महिलाप्रति हुने संकुचित भावना निराकरणमा पुरुषले नै सहयोग गर्नुपर्ने बताउनुभयो । पुरुषको दृष्टिकोण परिवर्तन भएमा समाज परिवर्तन हुन समय नलाग्ने उहाँको भनाइ छ । उहाँले इच्छा शक्तिले महिलालाई ऊर्जा थप्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्