महिला दिवसको अवसरमा जोशी र अधिकारी सम्मानित



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गतको वुमेन्स एन्ड स्पोर्टस कमिसनले अन्तर्राष्ट्रिय महिला दिवसको शुभ अवसरमा सोमबार विमला जोशी अमात्य र भवानी अधिकारी पोख्रेल लाई सम्मान गरेको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठ रहनु भएको थियो । यस कार्यक्रमका सभापति नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एंव वुमेन्स एन्ड स्पोर्टस कमिसनका अध्यक्ष श्री ज्योति राणाज्यु रहनु भएको छ ।

नेपाली खेलकुदमा पुर्‍याएको योगदानका लागि उनीहरूलाई सम्मान गरिएको हो । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले १ सय ११ औं महिला दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा सम्मान गरे ।

सम्मानसँगै २५ हजार रुपैंया पनि प्रदान गरिएको थियो । विमला एथलेटिक्सकी पूर्व खेलाडी हुन् र उनी एक दशक भन्दा बढी समय मध्यम दूरीको दौडमा सक्रिय रहिन् । उनले सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा तीन हजार मिटर दौडमा कांस्य पदक जितेकी थिइन् ।

अधिकारीलाई भने कर्मचारी प्रशासनतर्फबाट सम्मान गरिएको हो । उनी तीन दशकदेखि राष्ट्रिय खेलकुद परिषदको कर्मचारीका रूपमा कार्यरत छिन् । कमिसनले यसअघि प्रत्येक दुई दुई वर्षमा प्रदान गर्दै आएको यो सम्मान अबदेखि प्रत्येक वर्ष प्रदान गर्ने निणर्य पनि गरेको छ । कमिसनले सन् २०१२ देखि महिला दिवसका रूपमा सम्मान गर्न सुरु गरेको हो ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको नेतृत्वमा अझै पनि महिला पछाडि रहेको बताउदै यो क्षेत्र अझ महिला मैत्री हुनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्