युभेन्ट्सको पुनरागमन जित



लन्डन, (एजेन्सी) । 
इटालियन सिरी ‘ए’ लिग फुटबलमा युभेन्ट्सले पुनरागमन जित निकालेको छ ।शनिबार राति भएको सिजनको २५औं साताको खेलमा युभेन्ट्सले आफ्नो घरेलु मैदानमा पाहुना टोली लाजियोमाथि ३–१ को सहज जित निकाल्न सफल भएको हो  ।  युभेन्ट्सले खेलमा एक गोलले पछि परेको अवस्था उल्टाएर लगातार तीन गोल गर्दै खेल जितेको हो ।

टोलीका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेर उत्रिएको युभेन्ट्सलाई कमब्याक जित दिलाउने क्रममा अल्भारो मोराटा नायक बने । उनले पेनाल्टी गोलसहित दुई गोल गरे ।युभेन्ट्सको मैदानमा खेलको १२औं मिनेटमा लाजियोका जोआन कोरेरियाले वान भर्सेस वानमा गोल गरेर लाजियोलाई शुरूआती अग्रता दिलाएका थिए । तर, खेलको ३९औं मिनेटमा युभेन्ट्स खेलमा फर्कियो । फ्रेन्च मिडफिल्डर आड्रेन राबिओटले गोल गरेर खेल १–१ बनाए । खेलको ५७औं मिनेटमा मोराटाले युभेन्ट्सका लागि दोस्रो गोल गरे । अफ्नो डीबक्सबाट बल क्लियर गरेर मुभ बनाएको युभेन्ट्सले गोल गर्न गर्न सफल भयो । त्यसको तीन मिनेटपछि नै युभेन्ट्सले पेनाल्टी पायो ।

डीबक्समा लाजियोका खेलाडीले युभेन्ट्सका आरोन राम्सेलाई फाउल गरेर लडाएपछि पाएको पेनाल्टीमा मोराटाले नै गोल गर्दै युभेन्ट्सलाई ३–१ को जित दिलाए ।
यो समेत युभेन्ट्सले सिजनको १५औं जित आत्मसात गरेको छ । अब यो जितपछि युभेन्ट्सको २५ खेलपछि ५२ अंक भएको छ । यता, युभेन्ट्सको घरेलु मैदानमा पराजित लाजियोको भने २५ खेलपछि ४३ अंक छ ।

प्रतिक्रिया दिनुहोस्