पर्वतका अनिशले रेकर्ड तोडे



मनोरञ्जन शर्मा, भैरहवा  ।

पर्वतका अनिश थापाले रोटरी हाफ म्याराथनमा उत्कृष्ट समयसहित पहिलो भएका छन् । भैरहवामा सम्पन्न भएको २१.१ किलोमिटरको दूरी उनले १ घन्टा ६ मिनेट ३९ सेकेन्डमा पूरा गरेका हुन् । भारतीय सेनामा कार्यरत थापाको यो समय नेपाली खेलाडीको हाफ म्याराथनमा अहिलेसम्मकै उत्कृष्ट रहेको आयोजकको दाबी छ ।

सन् २००२ को मे ५ मा बेल्जियमा ब्रसेल्समा भएको वल्र्ड हाफ म्याराथन च्याम्पियनसिपमा खिमु गिरीले दूरी १ घन्टा ७ मिनेट २२ सेकेन्डमा पुरा गरेका थिए । हाफ म्याराथनमा नेपाली खेलाडीको यो रेकर्ड अहिलेसम्म तोडिएको थिएन् । तर, थापाले गिरीको रेकर्ड तोडेका छन् । यद्यपी यो रेकर्डलाई राष्ट्रिय खेलकुद परिषद वा नेपाल एथलेटिक्स संघले मान्यता दिन्छ या दिँदैन, हाफ म्याराथनका संयोजक राजकुमार गुप्ताले बताए ।

थापाले पनि आफुले उत्कृष्ट समयमा पुरा गरेको र रेकर्डनै तोडिएको भन्ने कुरा पछि मात्र थाहा पाएको बताए । उनले प्रतियोगिता जित्नु नै ठूलो उपलब्धि रहेको समेत बताए । पर्वतका थापा हाल गोर्खा राइफल्समा कार्यरत छन, बिदाको समयमा नेपाल आएका उनी हाफ म्याराथनमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्