पीएम कपमा एपीएफ र न्यू डायमन्ड विजयी



नेपालगञ्ज, (नेस) ।

सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा आइतबार लगातार दोस्रो जित निकाल्दा होंगान्जी न्यू डायमन्ड एकेडेमीले पहिलो खेल जितेको छ ।

आइतबार भएको पहिलो खेलमा एपीएफ क्लबले लुम्बिनी युनाइटेडलाई पराजित गरेको हो भने दोस्रो खेलमा न्यू डायमन्ड एकेडेमीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराएको हो । नेपालगन्ज रंगशाला परिसरमा रहेको कभर्डहलमा एपीएफले लुम्बिनीलाई सोझो सेटमा पराजित गरेको छ । एपीएफले लुम्बिनीलाई २५–८, २५–१२ र २५–८ को सेटमा पराजित गरेको हो । खेलमा एपीएफकी सरस्वती चौधरी ‘प्लेयर अफ द म्याच’ भइन् । उनलाई एन्फाका पूर्व मानार्थ उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, एन्फा बाँकेका अध्यक्ष भोजराज शाही, यति एयरलाइन्सका शिशिर गौतमले पुरस्कृत गरे ।

अर्को प्रतिस्पर्धात्मक खेलमा न्यू डायमन्डले बाजी मारेको छ । न्यू डायमन्डले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । न्यू डायमन्डले आर्मीलाई शुरुआतदेखि नै दबाबमा राखेको थियो । न्यू डायमन्डले शुरुवाती दुई सेटमा आर्मीलाई २५–१८, २५–२१ मा पराजित ग¥यो । तेस्रो सेटमा आर्मी खेलमा फर्किएको थियो । आर्मीले २५–२३ ले न्यू डायमन्डलाई पराजित गरेको थियो । चौथो सेटमा शुरुआती अग्रता लिएर पनि आर्मी पराजित हुन पुग्यो । यो सेटमा न्यू डायमन्डले आर्मीलाई २५–२१ ले पराजित ग¥यो ।

दोस्रो खेल खेलेको न्यू डायमन्डले पहिलो जीत निकालेको छ । यसअघि न्यू डायमन्ड पुलिससँग पराजित भएको थियो । खेलमा न्यू डायमन्डकी झरना श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ भइन् । युएनडिपी नेपालका डेपुटी रेजिडेन्ट रिप्रेजेन्टिव फरनाल्डो कोल्को र नेपाल भलिबल संघका केन्द्रिय सदस्य राजकुमार गुरुङले मायाको चिनो प्रदान गरे ।
प्रतियोगितामा आर्मी दोस्रो पटक पराजित भएको छ । तीन खेल खेलेको आर्मीले एक खेल जितेको छ ।

बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिता फाल्गुन २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख नगद पाउने छ । त्यसैगरी, दोस्रो हुनेलाई दुई लाख, तेस्रोलाई एक लाख र चौथो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार राखिएको छ । प्रतियोगितामा नेपाल प्रहरी, एपीएफ, त्रिभुवन आर्मी, न्यू डायमन्ड र लुम्बिनी युनाइटेड प्रतिस्पर्धामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्