नेपालको उत्कृष्ट क्याम्पस आदिकविले २ सय विद्यार्थीलाई छात्रवृत्ति दिँदै



मिला दरै, तनहुँ ।

व्यास नगरपालिका–१ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसले यसवर्ष २ सय विद्यार्थीलाईछात्रवृत्ति प्रदान गर्ने भएको छ । क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

क्याम्पसको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीहरूको छनौटका निम्ति अन्तरवार्ता भइरहेको क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तर्वार्तामा कक्षा ११ का १ सय ५ र कक्षा १२ का ९२ विद्यार्थीहरू सहभागी भएका थिए ।क्याम्पसका अनुसार अन्तर्वार्ताबाट छनौट भएका विद्यार्थीहरूलाई छात्रवृत्ति छनौट तथा सिफारिस समितिको सिफारिसमा क्याम्पस सञ्चालक समितिको निर्णयपछि छात्रवृत्ति वितरण गर्नेछ । क्याम्पसको छात्रवृत्ति वितरण निर्देशिका र नियम अनुसार छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीहरूले पहिलो आन्तरिक परीक्षा उत्तीर्ण गरेको हुनुपर्दछ ।

‘छात्रवृत्ति जेहेन्दार विद्यार्थीहरूले छात्रवृत्ति पाउन्’ भन्ने उद्देश्यले छात्रवृत्ति आवेदनका लागि पहिलो आन्तरिक परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था क्याम्पस छात्रवृत्ति वितरण निर्देशिकामा उल्लेख छ । क्याम्पसले आन्तरिक परीक्षा उत्तीर्ण भएका र छात्रवृत्ति आवेदन फर्म भरेका विद्यार्थीहरूमध्ये विपन्न, अपाङ्ग, सहिद तथा बेपत्ता परिवार दलित, आदिवासी जनजाति र पिछडिएको वर्गका विद्यार्थीहरूलाई प्रथामिकतामा राखेर छात्रवृत्ति वितरण गर्दै आएको छ ।क्याम्पसले हरेक वर्ष कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि करिब ५ लाख रूपैयाँ खर्चने गर्दछ ।कक्षा ११ र १२ मा यस वर्ष करिब आठ सय जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । दाताहरूबाट स्थापना भएको अक्षय छात्रवृत्ति कोषबाट प्राप्त व्याज रकम क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूले भुक्तान गरेको नियमित मासिक शुल्कको ५ प्रतिशत रकम र क्याम्पसको रकम छात्रवृत्तिमा वितरण गरिनेछ ।

यसबाहेक पनि व्यास नगरपालिकाले यसवर्ष क्याम्पसमा कक्षा ११–१२ मा अध्ययनरत करिब ३० विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । त्यसैगरी कक्षँ ११ र १२ मा अध्ययनरत क्याम्पसका विद्यार्थीहरूले विश्वविद्यालय अनुदान आयोग अन्तर्गत विद्यार्थी सहायता कोष र भारतीय राजदूतावासबाट प्रदान गरिने छात्रवृत्ति समेत पाउने गरेको क्याम्पसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्