दोहोरी गीत प्रतियोगिताको उपाधि आयोजकलाई



लमजुङ, (नेस) ।

लमजुङमा सञ्चालन गरिएको जिल्लास्तरीय खुल्ला लोकदोहोरी गीत प्रतियोगिताको उपाीध आयोजक लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लमजुङको टिमले जितेको छ । प्रतियोगिताको फाइनलमा एक अंकको फरकले सुन्दरबजार नगरपालिकाको समूहलाई हराउँदै आयोजक समूह पहिलो हुन सफल भएको हो ।

पहिलो हुने टिमले नगद रू.१० हजार र प्रमाणपत्रका साथ प्रदेशस्तरमा हुने प्रतियोगितामा भाग लिने अवसर पाएको आयोजक प्रतिष्ठानका जिल्ला अध्यक्ष अनुज अधिकारीले बताउनुभयो । उहाँका अनुसार दोस्रो हुने टिमलाई नगद ५ हजार, तेस्रो हुने दुई समूह बेसीशहर नगरपालिका र क्वँहाोलासोथर गाउँपालिकालाई २ हजार पाँच सयका दरले नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै, उत्कृष्ट गायकमा पार्वती आले र सुरज दुतराज तथा उत्कृष्ट स्वरमा पूजा परियार पुरस्कृत भएका छन् । त्यस्तै नवोदित प्रतिभा पुरस्कार चिति संस्कृति कला केन्द्रका विशाल विकले पाएका छन् । प्रतियोगितामा १२ समूहले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्