आउने सिजनका लागि स्टकमा मल



बाँके, (नेस) ।

बाँकेमा आउने सिजनमा मल अभाव नहुने भएको छ ।चाहिने बेलामा सधैंजसो अभाव झेल्दै आएका किसानले यसपाली भने सजिलै मल पाउने भएका छन् ।अन्नको भण्डार मानिने बाँके र बर्दियाका किसानले धान र गहुँ खेतीको बेलामा मलको अभाव झेल्दै आएका छन् । गएको सिजनमा पनि उनीहरूको समस्या जस्ताको तस्तै रह्यो । मागको करिब ५० प्रतिशत मात्रै मल किसानले बडो मुस्किलले पाए । धान खेतीका लागि असार साउन र गहुँ तथा तोरी खेतीका लागि कार्तिक महिनामा किसानलाई रासायनिक मल आवश्यक पर्छ ।

सिजनका बेला कृषि सामाग्री कम्पनीका गोदामहरू खाली हुन्थे । त्यही खाली गोदाम हेरेर किसान निराश भएर फर्किन्थे ।तर, अहिले कृषि सामाग्री कम्पनीका कर्मचारी मात्रै नभएर कार्यालयमा पुगेका किसान पनि निक्कै उत्साहित र मख्ख छन् । प्रायः सधैं खाली हुने गोदामहरू रासायनिक मलले भरिएका छन् । आफ्नो गोदाम भरिएपछि कृषि सामग्री कम्पनीले भाडामा गोदाम लिएर मल राखेको छ । अहिले कम्पनीको गोदाममा करिब १३ सय टन रासायनिक स्टक छ ।रासायनिक मल पर्याप्त भएपछि कम्पनीले सहकारी संस्थाहरूलाई मागे जति रासायनिक मल दिइरहेको कान्ति पोखरी सहकारी संस्थाका व्यवस्थापक रमजान अलि इद्रिसीले बताउनुभयो ।पछिल्ला दिनमा किसानले पशुपालन गर्न छाड्दै गएका कारण कम्पोस्ट मलको प्रयोग घट्दै गएकाले रासायनिक मलप्रतिको निर्भरता बढ्दै गएको छ । रासायनिक मलको अभावका कारण कृषि उपजहरूको उत्पादन समेत प्रभावित हुँदै आएको छ । अहिले किसानलाई हिउँदे मकैका लागि मल आवश्यक रहेको छ ।

धान र गहुँको सिजनमा मलको हाहाकार भए पनि पछिल्ला दिनहरूमा युरिया र डिएपी मल पर्याप्त मात्रामा आइरहेकाले कम्पनीले कृषि सहकारीहरूले मागे अनुसार नै मल वितरण गरिरहेको कृषि सामाग्री कम्पनी नेपालगञ्जका प्रबन्धक रमेश पौडेलले बताउनुभयो ।बाँकेका ३६ हजार ५ सय हेक्टरमा धान खेती हुन्छ । धान खेतीका लागि ३५ सय मेट्रिक टन युरिया, १५ सय मेट्रिक टन डिएपी र ५० मेट्रिक टन पोटास मल आवश्यक पर्छ ।त्यस्तै, जिल्लामा करिब १८ हजार हेक्टरमा गहुँ खेती हुन्छ । गहुँ खेतीका लागि २५ सय मेट्रिक टन युरिया, १५ सय मेट्रिक टन डिएपी र ५० मेट्रिक टन पोटास मल आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्