मेची–महाकाली रेलमार्गमा सर्भे पुनः शुरू



गोकुल घोरसाइने, बारा ।

मेची–महाकाली रेलमार्ग निर्माणको लागि डीपीआर तयार पार्ने क्रममा स्थानीयको अवरोधपछि निजगढ क्षेत्रमा रोकिएको सर्भे कार्य फेरि सुचारू भएको छ । बाराको निजगढस्थित बकैया खोला ड्यामको पूर्वी किनारलाई आधार मानेर नक्साङ्कन गर्ने सहमति भएपछि सर्भे कार्य सुचारु भएको हो ।एक महिनाअघि रेल विभाग काठमाडौंबाट आएको टोलीले बकैया खोलाको पूर्वी किनाराबाट रेलमार्ग लैजाने आश्वासन दिएपछि स्थानीयले पनि सर्भे कार्यमा सहमति जनाएका थिए । मानव बस्ती र खेतीयोग्य जमीनभन्दा बाहिरको क्षेत्रबाट नक्साङ्कन गरिने भएपछि स्थानीय बासिन्दा पनि बकैया खोला किनाराबाट नक्साङ्कन गर्न तयार भएका हुन् । यसअघि सर्भे टोलीले स्थानीयलाई जानकारी नै नदिइ मानव बस्ती, खेतीयोग्य जमीनको बीचबाट लाइन पर्ने गरी सर्भे गर्ने प्रयास गरेपछि स्थानीयहरुले अवरोध गरेका हुन् ।

सर्भे कार्यमा अवरोध भएपछि विभागका महानिर्देशक प्रमिला बज्राचार्य, रेल मार्गकालागि युसिङ कोरियन सर्वे कन्सल्ट्यान्टका मुख्य सर्वेयर मिस्टर कु, मिस्टर सोन, रेल विभागका सिनियर डिभिजन इन्जिनियर देवेन्द्रप्रसाद साह, नेपाली सर्वे कन्सल्ट्यान्ट जियोलोजिस्ट अच्युत कोइरालासहितको प्राविधिक टोली निजगढ आएर बकैया खोलाको पूर्वतर्फको क्षेत्रमा नक्साङ्कन गर्ने गरी अनुगमन गरेको थियो ।विभागको टोली र स्थानीयबीच निजगढ नगरपालिकामा भएको वार्तामा बकैया खोलाको पश्चिम किनारलाई पहिलो र खोलाको पूर्वी भागलाई दोस्रो प्राथमिकतामा राखेर सर्भे गर्ने भनिए पनि विभागले पूर्वतर्फबाट रेलमार्गको सर्भे थालेको हो । भौगोलिक र आर्थिक रुपमा पनि उपयुक्त देखिएपछि पूर्वी किनाराबाट सर्भे थालिएको सर्भे टोलीका इन्र्चाज सुरज पौडेलले बताउनुभयो ।

रेल विभागले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गतको रौतहटको गुजरा नगरपालिकास्थित चोचासम्मको ठेक्का लगाई सकेको छ । निजगढ–हेटौडा–भरतपुर खण्डको डीपीआर तयार पार्ने क्रममा विभागले सर्भे शुरू गरेको हो । परामर्श कम्पनीका सर्भेअरसँगै निजगढ नगरपालिकाले पनि दुई जना प्राविधिकलाई सँगै खटाएको छ । रेलमार्ग निर्माणको लागि कम्तिमा पनि ५० मिटर चौडाईको भू–भाग आवश्यक पर्ने र हाल ३ सय ५० मिटर दायाँ÷बायाँको क्षेत्रलाई समेटेर सर्भे हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्