नेफ्टाको चटारो



कोरोना संक्रमणबाट हुने कोभिड–१९ का कारण लगाइएको लकडाउनका समयमा फिल्मका कामहरु रोकिन पुगी अप्ठेरोमा परेका प्राविधिकहरुलाई राहत र अन्य सहयोग जुटाउँदै तथा पछिल्लो समय अस्वस्थ र अशक्त प्राविधिकहरुलाई सघाउँदै आएका नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा (प्रेम भोमजन) लाई अहिले भने अवार्डको चटारोले छोपेको छ।

नेपाल प्राविधिक संघ (नेफ्टा) को आयोजनामा वर्षेनि हुँदै आइरहेको नेफ्टा फिल्म अवार्डस् गत वर्ष कोभिड–१९ कै कारण रोकिन पुगेको थियो। सो समारोह आगामी शनिबार हुने भएपछि त्यसकै तयारीले उनलाई छपक्कै छोपको हो। श्रम र सिर्जनाको सही पहिचान चलचित्रकर्मीको वास्तविक सम्मान भन्ने नाराका साथ आगामी शनिवार राजधानीको सोल्टि क्राउन प्लाजामा आयोजना हुने यो अवार्डको केहीअघि सम्पन्न मनोनयन सूची सार्वजनिक कार्यक्रमलाई भव्य ढंगले सक्काएलगत्तै लामा तनावका कारण केही दिन थलै परे। अब भने तंग्रिएर त्यही जोसका साथ अवार्डको तयारी गरिरहेको उनले बताए। केही वर्षयता विविध कारणवश रोकिएको अवार्ड कार्यक्रमलाई पुनः निरन्तरता दिन ड्रिम हाई नेपालसँगको सहकार्यमा २०७५ सालका फिल्मलाई लिएर गत वर्ष २०७६ चैत २३ गते अवार्डको मिति तोकिए पनि कोभिड–१९ का कारण यो अवार्ड फेरि रोकिएको थियो।

रोकिएको अवार्ड कार्यक्रम आयोजना गर्न आफूहरु निकै उत्सासहित भएको नेफ्टा अध्यक्ष लामा बताउँछन्। ‘अवार्ड नजिकिँदै गएकोले हामी अवार्डलाई भव्य तरिकाले सफल पार्नका लागि खटिइरहेका छौं। अवार्ड कार्यक्रमलाई लिएर हामी निकै उत्साहित भएर लागिरहेका छौं।’ –पुष्कर भन्छन्। पाँचौं संस्करणसम्म नेपालमा भएको अवार्डको छैठौं संस्करणदेखिको नेप्mटा अवार्ड विदेशमा आयोजना हुँदै आएको थियो। अवार्डको छैटांै संस्करण मलेसिया, सातांै हङकङ, आठौं कतार र नवौं संस्करण दुबईमा सम्पन्न भएको थियो। यसपटक भने अवार्ड कार्यक्रम नेपालमै हुन लागेको हो। ‘कतारमा आयोजना गरिएको अवार्ड संस्करणमा हामीले स्टेज निर्माणमा मात्र डेढ करोड रुपियाँ खर्च गरेका थियौं भने कतारका राजकुमारलाई प्रमुख अतिथिका रूपमा सहभागी गराएका थियौं। नेपाली फिल्मको इतिहासमै त्यो स्तरको भव्य अवार्ड समारोह आगामी दिनमा हुन सक्ला तर अहिलेसम्म भने भएको थिएन।’ –पुष्करको दाबी छ। ‘हामीले गत वर्ष पर्यटन वर्ष–२०२० लाई लक्ष्ँित गरी नेपालमै अवार्ड कार्यक्रमको घोषणा गरेका थियौं। पर्यटन वर्षमा सघाउ पुगोस् भन्ने उद्देश्यले हामीले टुँडिखेलमा अवार्ड कार्यक्रम गर्ने निर्णय गरेका थियौं। तर, लकडाउनका कारण एक वर्ष पेन्डिङमै रह्यो। लकडाउन खुलेर जवनीवन सामान्य अवस्थामा फर्कंदै गर्दा हामीले तीन महिनाअघि अबचाहिँ अवार्ड गर्नुपर्छ भन्ने सल्लाह गरी आँट गरेका छौं। कोरोनाका कारण थलिएको फिल्म क्षेत्रलाई सामान्य अवस्थामा फर्कन यस अवार्ड कार्यक्रमले सहयोग गर्नेछ भन्ने विश्वास लिएका छौं’, उनको भनाइ छ– ‘अहिले पनि जनजीवन सामान्य भइसकेको छैन। कतिपय देशका फ्लाइट बन्द नै छन्। पोहोर नेपालका लागि घोषणा गरिएको कार्यक्रम भएका कारण नै हामीले नेपालमै आयोजना गर्न लागेका हौं।’

करिब ६० फिल्म प्रतिस्पर्धामा सहभागी रहेको भनिएको अवार्ड समारोहका आकर्षणका रूपमा सांस्कृतिक कार्यक्रम तथा विभिन्न सम्मान रहेको पुष्करले बताए। यसपटकको लाइफटाइम अचिभमेन्ट अवार्ड नेपाली फिल्म क्षेत्रमा लामो समय योगदान दिएका दुई प्राविधिक हस्तीलाई नगदसहित प्रदान गरिने पुुष्करले बताए। ‘लाइफटाइम अचिभमेन्टको साथै प्रतिस्पर्धात्मक विधाबाहेकका अन्य सम्मान पनि रहेका छन्। लाइफटाइम अचिभमेन्ट अवार्ड र सम्मान कसले पाउनुहुनेछ भन्ने कुराचाहिँ हामीले सरप्राइज नै राखेका छौं।’ –उनले भने। अवार्ड समारोहमा शोभित बस्नेत, सलोन बस्नेत, प्रमोद अग्रहरी, छुल्ठिम गुरुङ, सुरक्षा पन्त, रिस्ता अधिकारी, जेविका कार्की, रुविना थापा, नरेशविक्रम सिंहलगायतले विभिन्न प्रस्तुति प्रस्तुत गर्ने कार्यक्रमम रहेको उनले बताए। यसका साथै प्राविधिक प्राविधिक हामी प्राविधिक बोलको गीतमा द्वन्द्व कलाकार, निर्देशकलगायतका प्राविधिकले पनि प्रस्तुति दिनेछन्। ‘उक्त गीतमा हामी स्टेजमै फिल्मको सुटिङको इन्भारमेन्ट क्रियट गर्नेछौं। जसका लागि अहिले रिहर्सल भइरहेका छ।’ –पुष्करले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्