गल्याङको मालुंगामा ‘एक घर एक धारा’



अमृत अर्याल, स्याङ्जा
गल्याङ नगरपालिका–१ मालुङ्गामा झण्डै ४ सय घरधुरीमा खानेपानी पुगेको छ । ‘एक घर एक धारा’ कार्यक्रमअनुसार चिडेपानी खानेपानी आयोजनाले ३ सय ९४ घरधुरीलाई शुक्रबारदेखि खानेपानी वितरण गरेको हो । कार्यक्रको उद्घाटन गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले धाराको टुटी खोलेर गर्नुभएको थियो ।
उद्घाटनपश्चात् नगर प्रमुख अधिकारीले पूरै गल्याङ नगरको खानेपानी समस्या समाधान गर्नका लागि आफूले पहल गरिरहेको भन्दै कात्तिकसम्ममा खानेपानीको समस्या समाधान हुने बताउनुभयो । झण्डै ८० लाख रुपियाँको बजेटमा करिब ४ सय घरधुरीमा खानेपानीको विस्तार हुनु राम्रो पक्ष भएको भन्दै उहाँले उपभोक्ता समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो ।‘के गर्दा २४सै घण्टा पानी आउने अवस्था हुन्छ, तपाईंहरुले सुझाव दिनुस्, म त्यहीअनुसार आवश्यक बजेटको व्यवस्था मिलाउनेछु ।’ –नगरप्रमुख अधिकारीले भन्नुभयो । खानेपानीको व्यवस्थापन भइसकेपछि करेसाबारीको व्यवस्थापनमा पनि ध्यान दिन आग्रह गर्दै उहाँले व्यवसायिक र स्वरोजगार बन्नका लागि आफैं जागरुक हुनुपर्नेमा जोड दिनुभयो । यस वर्ष नगरपालिकाको प्रशासनिक भवन बनाउँदा बजेटमा केही समस्या भएको भन्दै नगरप्रमुख अधिकारीले आगामी वर्ष विकासका अन्य पूर्वाधारमा काम हुने बताउनुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिका–१ का अध्यक्ष गणेशप्रसाद बस्यालले आयोजना सम्पन्न गर्ने क्रममा समितिले सक्रियतापूर्वक काम गरेको बताउनुभयो । उहाँले सडक निर्माण, अस्पताल निर्माणसहितका विभिन्न काम वडामा भइरहेको भन्दै वडाको विकासमा स्थानीयको राम्रो साथ रहेको उद्धृत गर्नुभयो । आयोजना उपभोक्ता समितिका अध्यक्ष नवराज बस्यालले नगरपालिका र वडाको राम्रो साथ रहेका कारण आयोजना सम्पन्न गर्न सम्भव भएको बताउनुभयो ।त्यसै गरी, कोषाध्यक्ष अम्बिका बस्यालले सकेसम्म पारदर्शी ढंगले कम लागतमा आयोजना सम्पन्न गरेको बताउनुभयो । समितिका सदस्य टंकराज बस्यालले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो भने उपभोक्ता डोलमाया बस्यालले घर–घरमा धाराको व्यवस्थापन अझै राम्रो बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्